नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ विदुरस्थित नेपाल सरकारको स्वामित्वमा रहेको वनदेवी सामुदायिक वनको जग्गामा अवैध रुपमा बनाइएका टहराहरु भत्काइएको छ ।
न्यूज ट्वान्टीफोर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा जग्गा अतिक्रमणबारे समाचार प्रशारण भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त समन्वयमा अवैध टहरा डोजर लगाई भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अतिक्रमण गरी निर्माण गरिएका घरटहरा अवैधरुपमा व्यापार–व्यवसाय गर्नेहरुले पटक पटकको आग्रहलाई नटेरेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । सो कार्यालयले वनको क्षेत्र वरिपरि अतिक्रमण गरेका चार किल्लाभित्रका घरटहरा चलाउनेलाई हटाउन दश दिनको सूचना प्रकाशन गरेको थियो ।
सो कार्यालयका अनुसार आज टहरा मात्र भत्काइएको छ । बाँकी पक्की घरको केही व्यक्तिका लालपुर्जा भएका र नभएकाहरुलाई उच्च अदालतले हाल भत्काउन रोक्नू भन्ने आदेश दिएकाले ती घर १५ दिनका लागि भत्काउन रोकिएको डिभिजन वन कार्यालय नुवाकोटका निमित्त अधिकृत राजकुमार यादवले बताए ।
वन ऐन, २०४९ को दफा १७ अनुसार राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकाले अतिक्रमित कार्य वन ऐन, २०४९ को दफा ४९ को उपदफा (क) विपरीतको कार्य भएकाले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालय नुवाकोटले स्पष्ट गरेको छ ।न्युज 24 बाट साभार










