अनुपम शर्मिला––

काठमाडौं । नेपाली चलचित्र जगतकी सदावहार नायिका करिश्मा मानन्धर पुन एकपटक चर्चामा आएकी छिन् । अहिले उनको चर्चाको कारण हो– पार्टी छाड्नु । कोहीबेला निक्कै होहल्ला गरेर पार्टीमा लागेकी थिइन्, अहिले खुसक्क पार्टी छाडेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्र क्षेत्रकी अत्यन्तै सफल यी नायिका चारवर्ष अघि राजनीतिमा लागेकी थिइन् ।

डा. बाबुराम भट्टराईले चर्चित अनुहारहरुको भीड जम्मा पारेर चार वर्ष अघि धुमधामसँग नयाँ शक्ति पार्टी खोलेका थिए । त्यो भीडकी एउटी पात्र थिइन् करिश्मा । नयाँ शक्तिमा शालिन नेतृका रुपमा करिश्माले बेग्लै छवी बनाएकी थिइन् । कुनै तडकभडक देखाएकी थिइनन् ।

करिश्मा राजनीतिमा पस्दा कोमल वली र रेखा थापा पनि राजनीतिक रुपमा चर्चामा आएका थिए । यी दुवै राप्रपा नेपालमा प्रवेश गरेका थिए । कोमल पछि तत्कालीन एमालेमा पसिन्, सांसद बनिन् । रेखा थापा अहिले पनि राप्रपामै सक्रिय छिन् तर पद पाउन सकेकी छैनन् । उता, नयाँ शक्ति पार्टीको भने विजोग भयो, आमचुनावमा बाबुराम मात्र सांसद बने, राष्ट्रिय पार्टी बनेन । राष्ट्रिय पार्टी नबनेपछि नयाँ शक्तिले समानुपातिकमा सांसद पठाउन पाएन । अर्थात्, करिश्माले सांसद बन्न पाइनन् ।

त्यसपछि लगभग निष्क्रिय जस्तै थिइन् करिश्मा । त्यसैबीच बाबुरामले उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादीमा नयाँ शक्ति मिसाएर समाजवादी पार्टी बनाए । दुई पार्टी एकीकरण समारोहमा करिश्मा पनि गइन् तर उनलाई मञ्चमा राखिएन । नयाँ शक्तिमा हुँदा हरेक कार्यक्रममा करिश्मा मञ्चमा हुन्थिन् । एकीकरण समारोहमा नदेखिएपछि  करिश्मालाई सोधेको थियो– ‘एकीकरण समारोहमा किन नजानुभएको ?’ उनको जवाफ थियो– ‘गएकी थिएँ तर पछाडि बसेको थिएँ ।’ करिश्माले पहिले आफू मञ्चमा बस्ने गरेको तर एकीकरणमा मञ्चमा नबसेकी हुनाले मिडियाले नदेखेको हुनसक्ने बताएकी थिइन् ।

एकीकरणपछि करिश्मा समाजवादी पार्टीको केन्द्रीय सदस्य बनिन् । केन्द्रीय समितिको पहिलो वैठकमा पनि गइन् । उनले भनिन्– ‘म सुरुदेखि नै भावनात्मक रुपमा नयाँ शक्तिमा थिएँ । पार्टीले दिएको जिम्मेवारी पूरा गरें । अहिले म भावनात्मक रुपमै नयाँशक्ति÷समाजवादी पार्टीबाट अलग भएकी छु ।’ राजीनामा नै दिनुभएको हो भन्ने प्रश्नमा करिश्माले भनिन्–‘होइन मैले राजीनामा दिएकी छैन, मनबाटै अलग भएपछि राजीनामा दिनुपर्छ भन्ने लागेन । तर, आवश्यक परे मौखिक र लिखित राजीनामा दिन तयार छु ।’

नयाँशक्ति र समाजवादी मिलेर बनेको अहिले समाजवादी पार्टीबारे असन्तुष्ट हनुहुन्छ भन्ने प्रश्नमा करिश्माले भनिन्– ‘भनिहालें नि, म अलग भएँ । म केही बोल्न चाहन्न ।’ उनले पार्टी छोड्दैमा राजनीति नसकिने पनि बताइन् । ‘पार्टीबाट अलग हुदैमा राजनीति सकिने होइन । अब अन्याय र अत्याचार विरुद्ध बोल्छु, स्वतन्त्र रुपमा चुनाव लड्न पनि सक्छु म अलग भएकी हु । थाकेको होइन । ’

करिश्माले देशका लागि काम गर्न राजनीति नै गर्न नपर्ने बताइन् । ‘देशका लागि काम गर्न राजनीति नै गर्नुपर्छ भन्ने सोच गलत हो । राजनीति नगरेपनि देशका लागि काम गर्न सकिन्छ । देशका लागि केहि गरौ भन्ने सोच छ । म त्यसकै लागि अब सक्रिय हुन्छु’, उनले भनिन् ।

उनले जनताले नेतालाई भन्दा कलाकारलाई बढी माया गर्ने पनि बताइन् ।

प्रायजसो नेताहरुले राजनीति छोड्ने बेलामा र अर्को पार्टी प्रवेश गर्ने बेलामा पार्टीलाई दोष दिने र आरोप लगाउने गरेको देखिन्छ । तर करिश्मा त्यसमा अपवाद बनिन् । उनले कुनै आरोप लगाइनन् ।

भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी पार्टी एकिकरण भएको करिब एक महिना पछि करिश्माले पार्टी छाडेको बताएकी हुन् ।

तर यसअघि गत वैशाखमा  कुरा गर्दै करिश्माले दुई पार्टीबीचको एकताले आफू खुसी भएको बताएकी थिइन् । ‘पार्टीले अब जुन जिम्मेवारी दिन्छ म त्यसलाई पूरा गरेर अघि बढ्छु’– उनले भनेकि थिइन् ।

पार्टी एकीकरणपछि जिम्मेवारी लिन अघि सरेकी करिश्मा, हाल चुपचाप पार्टीबाट अलग भएकी छिन् ।सनराइज खबर