काठमाण्डु, १६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुनाको रुपमा अघि बढीरहेको बताएका छन् । प्रथम राष्ट्रिय महिला अधिकार दिवशको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले २०६३ साल जेठ १६ गते पुनस्र्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी बिधयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘महिला अधिकारको क्षेत्रमा कोशेढुंगाको रुपमा रहेको जेठ १६ गतेको दिनलाई सरकारले राष्ट्रिय महिला दिवशको रुपमा यस बर्ष देखि मनाउन सुरु गरेको हो’, प्रधानमन्त्री ओलीले भने ।

संविधानले महिला अधिकार सुनिश्चित गरेकै कारण संसदमा एकतिहाइ महिला जनप्रतिनिधि र स्थानीय तहमा ४० हजार जना जनप्रतिनिधि निर्वाचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले स्थानीय तहमा उपप्रमुखमा अनिवार्य महिलाको व्यवस्था गरेका छौं । कतिपयले महिलालाई स्थानीय तहमा मात्र स्थान दिएको भन्लान्’ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यसो होइन । हामीले राष्ट्रपति महिला उपराष्ट्रपति पुरुषको अभ्यास गरिरहेका छौं । सभामुख महिला उपसभामुख पुरुषको अभ्यास हामीले गरिसकेका छौं । त्यस कारण नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुना नै हो ।’

साथै प्रधानमन्त्री ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफूले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गरेका हुन् ।

मञ्चमै बसिरहेकी श्रीमती शाक्यतर्फ फर्कँदै उनले आफूले बनावटी कुरा गरे हात उठाएर विरोध गर्ने अधिकार उनलाई रहेको बताए ।

‘महिला हेला गर्ने विषय हुँदै होइन’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो श्रीमती नजिकै भएको हुनाले म हात उठाएर विरोध गर्ने अधिकार छ भन्दिन चाहान्छु । मैले बोलेका कुरामा फरक–वनावटी छ भने हात उठाएर यो कुरा सही होइन भन्ने अधिकार उनलाई छ ।’

संविधानले व्यवस्था गरेको महिला अधिकारको व्यवस्था कार्यन्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।