जलेश्वर । जिल्लाको पिपरा गाउँपालिका वडानं. १ को खैरबामा यही जेठ १४ गते मृत अवस्थामा भेटिएकी महिलाको हत्या दाइजोको कारणले ससुरालीपक्षले गरेको आरोप माइतीपक्षले लगाएका छन् । जेठ १४ गते बिहान झुण्डिएको अवस्थामा फेला परेकी २० वर्षिया विमला देवी यादवको हत्या पति, सासु, ससुरा तथा ननदहरुको कुटपिटबाट भएको मृतककी बुबा कमलेश यादवले आरोप लगाउनुभएको छ । जलेश्वर नगरपालिका वडानं. ३ मलिवाराका यादवले माइतबाट मोटरसाइकल लिएर आउन पटक पटक छोरीलाई पति बालेश्वर यादव, ससुरा शंकर यादवसहित सासु र ननदले कुटपिट र प्रताडना दिदै आएको बताउनुभयो ।

छोरीलाई ससुरालीपक्षले कुटपिट गरी झुण्डयाएको बताउनुहुदै उहाँले पाँचजना विरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी समेत दिनुभएको छ । उहाँले एक वर्ष अगाडी पनि यसरी नै धेरै कुटपिट गरेपछि छोरी भागेर माइत आएकी थिइन । तर हामीले हरेक घरमा यस्ता सानो सानो झगडा हुने गरेको भन्दै पुनः छोरीलाई फिर्ता पठाएको सम्झनुहुदै कमलेशले त्यही बेला प्रहरीमा घटनासम्बन्धी उजुरी दिएको भए यस्तो हुदैन्थ्यो कि निन्याउरो मुख लगाउँदै बताउनुभयो । तिन वर्ष अगाडी गरिएको विवाहमा आफुहरुले माँगे वमोजिम ५ लाख नगद, २ तोला सुन, ५० तोला चाँदीसहित फर्निचरहरु दिएको बताउनुहुदै छोरीलाई मोटरसाइकलको लागि ससुरालीपक्षले प्रताडना दिँदै आएको बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा भेटिएकी मृतककी काका सुशिल रायले ५ जना छोरीहरुमा सबैभन्दा जेठी रहेकी उनको विवाहमा आफुहरुले हैसियतभन्दा बढी दिएको बताउनुहुदै भतिजीले आत्महत्या नगरि कुटपिटबाट हत्या गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शरिरको विभिन्न ठाउँमा कुटपिट गरिएको निलडाम छन् ।’भतिजीको मृत्युपश्चात पनि ससुरालीपक्षले आफुहरुलाई खबर समेत नगरेको बताउनुहुदै उहाँले आफन्तहरु मार्फत जानकारी पाएपछि आफुहरु पुगेर प्रहरीलाई बोलाएर घटनाको जाँचपडताल गर्न आग्रह गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खडकाले माइतीपक्षले ससुरालीपक्षको पाँचजना विरुद्ध जाहेरी दिएको बताउनुहुदै जाहेरी दर्ता गरी अनुसन्धान थालिएको बताउनुभयो । जाहेरी दर्ता गरी प्रक्रिया अगाडी बढाइसकिएको र सो क्रममा मृतकका पति बालेश्वर यादव र ससुरा शंकर यादवलाई छानविनको लागि नियन्त्रणमा लिइसकेको जानकारी दिनुभयो । उहाँले हत्या हो वा आत्महत्या हो त्यो बारे अहिल्यै केही भन्न नसकिने बताउनुहुदै पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि थप जानकारी दिन मिल्ने बताउनुभयो । मृतकको पोष्टमार्टम भइ शव माइतीपक्षलाई बुझाइसकिएको छ ।

केही दिन यता प्रदेशनं. २ मा महिला हिंसाको घटना बढेको भन्दै मानवअधिकारवादीहरुले चिन्ता समेत प्रकट गर्दै यो घटनाको पनि निष्पक्ष छानविन गर्नुपर्ने जनाएका छन् । तराई मानव अधिकार रक्षक सञ्चाल महोत्तरीका संयोजक अर्जुन साहले घटनाबारे आफुहरुलाई समेत अनौपचारिकरुपमा जानकारी आएको बताउनुहुदै घटनाबारे बुझिरहेको बताउनुभयो । उहाँले निष्पक्ष रुपमा घटनालाई छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माँग समेत गर्नुभयो ।पुर्बेली न्युज