पुष्पराज अधिकारी मकवानपुर । आफ्नो पसल चोरी भयो भनेर प्रहरीमा उजुरी गर्ने नै चोर भएको पुष्टि भएको छ ।
हेटौडा–४, पारिजातपथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स् सेन्टरमा चोरी भयो भनि उजुरी दिने सञ्चालक उमेश घिमिरे नै चोरी काण्डका योजनाकार रहेको रहस्य खुलेको हो ।
प्रहरीले गरेको दश दिनको अनुसन्धानपछि घिमिरेलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
बैंकको ऋण तिर्ने भाका सार्न र पसलको इन्स्योरेन्स् दाबी गर्ने योजना बनाई पसल चोरी भएको नाटक गरेको रहस्य खुलेको हो । उनको योजना अनुसार जेठ ८ गते पसल बन्द भएको अवस्थामा पसलबाट ३ लाख १२ हजार नगदसहित ३२ लाख ९३ हजार दुई सय ८४ रुपैयाँ बाराबरको इलेक्ट्रिकल्स् सामान चोरी भएको भन्दै जेठ ११ गते प्रहरीलाई उजुरी गरेको थिए ।
उजुरी पर्ने बित्तिकै प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान अघि बढाइएको थियो । पाँच वर्ष अघि पसल शुरू गरेका घिमिरेलाई सनराइज बैंकबाट लिएकाे ५० लाख ऋण चुक्ता गर्न बैंकले दबाब दिएपछि एक महिना अघि मात्र सिद्धार्थ इन्स्याेरेन्समा ५० लाखकाे इन्स्याेरेन्स् गरेका थिए ।
‘पसलको ५० लाखको बिमा गरिएकाले बिमावापत उक्त रकम दाबी गरी बैंकको ऋण तिर्ने योजना बनाएका रहेछन्’ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भन्नुभयो, ‘चोरी भएको भनिएको इलेक्ट्राेनिक्स् सामान पारिजातपथमा रहेको भाडाको घरबाट बरामद गरिएको छ ।’
घिमीरेलाई सार्वजनिक हित तथा सुरक्षाविरुद्धको कसुरमा मुद्दा अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ, जनता समाचार बाट










