बिर्तामोड । नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला र कृष्णप्रसाद भट्टराईको संयुक्त सहभागितामा स्थापना भएको ‘प्रजातन्त्र छाता’ व्यापारिक प्रयोजनका लागि ढाल्ने तयारी भैरहेको बुझिएको छ ।

वीपी कोइरालाले २०३७ सालमा बिर्तामोडमा उद्घाटन गरेको ‘प्रजातन्त्र छाता’रहेको स्थानलाई पुरै सफा गरेर व्यापारिक प्रयोजनको भवन निर्माण गर्ने तयारी भैरहेको छ । यो स्थानमा प्रजातन्त्रको विम्वको रुपमा प्रजातन्त्र छाता निर्माण गर्ने उदेश्यले कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले शिलान्यास गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो एतिहासिक स्थानमा व्यापारिक प्रयोजनका सटरहरु बनाउन लागिएको निर्माणमा संलग्न ठेकदारले बताएका छन् । शनिश्चरे रोडदेखि अतिथिसदन जाने बाटोमा दक्षिणतर्फ पर्ने सो स्तम्भ जोगाउन नेपाल प्रेस युनियन झापाले नेपाली काँग्रेसको ध्यानाकर्षण गराएको छ । सो ऐतिहासिक स्तम्भको संरक्षणमा आफूले दाता परिवारको ध्यानाकर्षण गराउने नेपाली काँग्रेस झापाका पूर्व सभापति तथा संविधनसभाका सदस्य सुधिरकुमार शिवाकोटीले बचन दिएका छन् ।

नेपाली काँग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष खनुपरुदे रामबाबु प्रसाईले बीरता सार्वजनिक संस्थालाई दान दिएको पाँच कठ्ठा जमिन अतिक्रमण भएर अहिले डेढ कठ्ठामा खुम्चिएको छ । सार्वजनिक पुस्तकालय समेत केही समय सञ्चालनमा आएको सो ठाउँमा पुरानो भवन जीर्ण भएको, घर होचो भएका कारण बाटोको पानी पसेर सञ्चालन हुनसक्ने अवस्था नभएपछि पुस्तकालय बन्द भएको थियो । यही भवनको आँगनमा प्रजातन्त्र छाता निर्माण भएको थियो ।

जग्गादाता रामबाबु प्रसाईं उमेरले सय टेक्न लागेका छन् । उनी बिगत १० वर्षदेखि झापा आउन सकेका छ्रनन् । उनका उत्तराधिकारीले भने पिताजीले सार्वजनिक संस्थालाई दान दिईसकेको जमिनलाई व्यापारिक भवन निर्माण गरी निजी आयको स्रोत बनाउन लागको जानकारहरु बताउँछन् । अहिले बिर्तामोडको जग्गाको मोल निकै बढेको छ । अहिलेको बजार भाउ अनुसार, अर्बौं मूल्य पर्ने १० सौं बिगाह जमिन रामबाबु प्रसाईंले बिर्तामोडको बुधबारे हाट बजार, कृषिथोक बजार, देबी मा. बि., बिर्तामोड खानेपानी लगायता संघ संस्थालाई दान दिएका थिए । अब ऐतिहासिक महत्व रहेको यति सानो जमिनको टुक्रालाई त्यस्तो दानी र त्यागी परिवारले लोभ गरेर फिर्ता लिन्छ भनेर विश्वासै गर्न नसकिने कांग्रेसका पुराना नेता तथा रामबाबु प्रसाईका सहकर्मी पूर्णानन्द शर्मा बताउँछन् ।

मिचिएको सीमा र अतिक्रमण रोकेर प्रेस युनियन झापाले सो सार्वजनिक जग्गा जोगाए पछि दानवीर रामबाबु प्रसाईले रेखदेख र भोगाधिकारको एउटा पत्र प्रेस युनियनलाई दिएको युनियनका केन्द्रिय सदस्य गोबिन्दचन्द्र क्षेत्री बताउँछन् । अहिले सो स्तम्भ र पुस्तकालय भवन भत्काएर व्यापारिक सटर निर्माणको काम थालिएको छ । नेपाल बिद्यार्थी संघ झपाले सो स्थानमा रहेको छाता स्तम्भ तोड्न नदिने, संरक्षण गर्ने र छातामा रंग रोगन गर्ने बताएको छ । (तस्बिर सौजन्य: पत्रकार कृष्ण हुमागाईं ।)सरलपत्रिकाबाट