आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले देशैभरको मौसम बदली भएको छ। यसकारण देशका जुनसुकै स्थानमा वर्षा हुने सम्भावना छ।
‘देशभर नै वर्षाकाे सम्भावना रहेकाले यही ठाउँ भनेर किटान गर्न गाह्रो छ,’ उनले भने, ‘अलि बढी सम्भावना पूर्वी पहाडमा छ।’ किनकि अहिलेको बदली पूर्वी क्षेत्रबाट भित्रिएको बंगाल खाडीको जलवाष्पयुक्त हावाले भएको हो।
तर अन्य स्थानमा पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको मौसविद् रिमालको भनाइ छ। ‘अपराह्न या साँझपख वर्षा हुने देखिन्छ,’ उनले भने।
उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले मौसम पूरै बदली भएको छ। ‘काठमाडौंमा केहीबेरमै पनि वर्षा हुन सक्ने सम्भावना छ,’ उनले भने, ‘तर अपराह्न वा साँझपख पनि हुन सक्छ।’
जेठ २० गते सोमबार दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य तथा बाँकी भूभागमा आंशिक बदली रही देशका पश्चिमी र मध्य भू–भागका केही स्थानमा तथा पूर्वी भ–भूभागका थोरै स्थानमा हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना छ।










