झापा । भद्रपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका १० चैतु मन्दिर स्थित सुकुम्वासी टोल बस्ने १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका १७ वर्षीय किशोर पक्राउ परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार किशोरीको घरमा कोही नभएको मौका छोपी ती किशोरले आइतबार राती ९ बजे उनकै घरमै गएर बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको हो ।
सोही उजुरीको क्रममा प्रहरीले ती किशोरलाई सोमबार बिहान पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । पक्राउ परेका किशोरलाई स्वास्थ्य परीक्षक गरी आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । यता बलात्कृत भएकी किशोरीको स्वास्थ्य परीक्षक मेची अञ्चल अस्पताल भद्रपुरमा नभएपछि उनलाई धरान पठाइएको छ ।











