भैरहवा / रुपन्देहीमा एक किशोरले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका १ भुजौली बस्ने १८ वर्षीय सबनम नाउँको उनका प्रेमी भनिएका असरुद्धिन मुसलमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
पटकपटक विवाह प्रस्ताव राख्दा समेत सबनमका प्रेमीले नमानेपछि सबनमले प्रेमी असिरुद्दिनलाई दुई झापड हानेको प्रहरीले जनाएको छ । प्रेमीकाको दुई झापड खाएका असिरुद्दिनले त्यसैलाई ईगोको रुपमा लिएर प्रेमिका सबनमलाई एकान्त ठाउँमा बोलाएर सलले घाँटी कसी हत्या गरेको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।
गत बैशाख ३० गते राति १० बजे सुत्न गएकी भनिएकी सबनम नाउँ सोही दिनदेखि हराएकी थिइन् । उनको शव जेठ १ गते बिहान ७ बजे गैडहवा गाउँपालिका–१ भुजौली (रुपन्देही र कपिलवस्तु जिल्लाको सीमानामा पर्ने सुख्खा खोला किनार) मा फेला परेको प्रहरीले जनाएको छ ।
घटनापछि सबनमका बुवा मोहम्मद इसहाक मुसलमानले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए । युवतिको शव फेला परेपछि रुपन्देही प्रहरीले उनको घटनामाथि अनुसन्धान थाल्यो ।
अनुसन्धान गर्दै जाँदा सबनमकै प्रेमी भनिने असरुद्धिन मुसलमानले हत्या गरेको खुल्न आएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । गैडहवा गाउँपालिका–१ का २३ वर्षीय असिरुद्दिन मुसलमानसँग प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रेम सम्बन्धमा रहेकी सबनमले पटकपटक विवाह गर्न दबाब दिँदै आएको र प्रेमी असिरुद्दिने बिहे गर्ने समय नभएको भन्दै विवाह प्रस्ताव अस्वीकार गर्दै आएका थिए ।
सुरुमा पोष्टमार्टमका लागि सबनमको शव काठमाडौँ पठाइए पनि हत्याको कारण खुल्न सकेको थिएन। पछि मृतकको छिमेकमा नजिकका मान्छेलाई शंकाको घेरामा राखेर अनुसन्धान गर्दै जाँदा सबनमको प्रेम सम्बन्ध असिरुद्दिनसँग रहेको पाइएको एसपी थापाले जानकारी दिए ।



