(पार्थ मण्डल) झापा । पछिल्लो समयमा झापासहित देशभर क्रिकेट खेलमा सट्टाबाजीको चलखेल सुरु भएको छ । भारतीय सट्टे बाज (बुकी) का गहिरोसँग मिलेर नेपालका सट्टे बाज (बुकी) हरूले कानुनको धज्जी उडाउँदै क्रिकेट खेलमार्फत करोडौँ नेपाली रुपैयाँ भारत पठाउने गरेको छ ।

अहिले विश्वकप क्रिकेटको माहौल तातिएको छ । केही समय अघि मात्र ईन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) सकिएको छ । आइपिएलमा नेपालको तर्फबाट क्रिकेटको बुकी चलाउने गहिरोले विश्वकप क्रिकेटलाई टारगेट बनाएर आफ्नै अवैध धन्दा चलाइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा बसेका बुकीहरूले नेपाली जनतालाई लुट्दै भारतीय रुपैयाँमै कारोबार गराउने गर्छन् । यसैक्रममा नेपालका बुकीमार्फत सट्टाबाजीको चलखेल झापासहित देशभर बढे लगतै नेपाल प्रहरीले काठमाडौँबाट तीन जना सट्टे बाज अर्थात् बुकीलाई गत मङ्गलवार पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ गोल्चे बस्ने ३६ वर्षीय बज्र प्रकाश लामा, सोही ठाउँका ३० वर्षीय विद्युत् प्रकाश लामा र रामेछाप लिखु गाउँपालिका २ सैपु बस्ने ३३ वर्षीय उमेश कार्की रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट एक लाख नगदसहित अन्य सामग्री समेत बरामद गरेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरूले आइपिएलपछि अहिले विश्वकप क्रिकेटसँगै च्याम्पियनसिप र फुटबलको समेत सट्टा बाजी गराउँदै आइरहेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी अनुसन्धानमा राखिएको जनाइएको छ । प्रहरीले काठमाडौँमा पक्राउ गरेको तीन जना नमुना पात्र मात्र हुन ।

अहिले झापासहित देशभर क्रिकेटको बुकी चलाउने गहिरो कमाउन धन्दामा लागि परेका छन् । झापामा क्रिकेटको बुकी भद्रपुर, काँकडभिट्टा, बिर्तामोड र दमकबाट सञ्चालन भइरहेको स्रोतको दाबी छ । प्रहरीले क्रिकेटको सट्टा बाजी चलाउने गहिरोको व्यक्तिहरूलाई पहिचान गरे पनि उनीहरूलाई पक्राउ गर्न खासै चासो देखाएको छैन । झापामा मात्र एक दिनमा ५० लाख बढी भारतीय रुपैयाको कारोबार सट्टाबाजी मार्फत हुने गरेको स्रोतको दावी छ ।