काठमाडौं। सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो। धरपक्कडमा परी एक दर्जनबढी घाइते भएका छन्। यसैबीच, प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन्। गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने सो विधेयकको प्रावधानप्रति उनीहरुको विशेष आपत्ति छ।

दुई तिहाई बहुमतको सरकारले ल्याएको सो विधेयक पारित हुने आशंका गर्दै सरोकारावालाहरुले सो विधेयक खारेज गर्न माग गर्दै गत एक हप्तादेखि विरोध प्रर्दशन गर्दै आएका छन्। उनीहरुले सो विधेयक २ दिन भित्र फिर्ता नलिए सिंगो देशनै ठप्प हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन्।