भद्रपुर । झापाको जलथलमा पाइने जैविक विविधता, महत्व र विशिष्टताको प्रचारप्रसार गर्ने उद्देश्यले आइतबार जिल्लाको हल्दिबारी गाउँपालिका–४ मा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुर नगरपालिका क्षेत्रमा रहेका २२ वटा सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र उपभोक्तासँग फरेष्ट एक्सनको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

एक्सनले व्यवस्थापन गरेको कार्यक्रममा काठमाडौँ फरेस्ट्री कलेज, सामुदायिक वन उपभोक्ता महासङ्घ झापा र रोयल बोटानिक गार्डेन एडिनवरा साझेदार रहेका छन् ।छ हजार ३०० हेक्टर क्षेत्रफलमा फैलिएर एकै स्थानमा केन्द्रित रहेका ती सामुदायिक वनमा पहाड र मधेश दुवै क्षेत्रमा पाइने विभिन्न प्रजातिका बिरुवा र जीवजन्तु पाइने सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीन वर्षे योजना लिएर शुरु गरिएको कार्यक्रममा सामुदायिक वनमा जैविक विविधता व्यवस्थापन, जैविक विविधतासम्बन्धी पुस्तक, वन प्राविधिकलाई तालीम, पर्यापर्यटनलाई सहयोग पुग्ने वृत्तचित्र र नेपालमा जैविक विविधताको अवस्था र व्यवस्थापनसम्बन्धी बहस पैरवी गरिने कार्यक्रमका ‘फोकल पर्सन’ लीलानाथ शर्माले बताए ।

उनले सो कार्यक्रममार्फत् जलथललाई जैविक विविधता संरक्षण गर्दै विपन्न समूहको आम्दानी बढाउन सकिने, वन र उद्यमलाई पर्यापर्यटनमार्फत् जोड्न सकिने, मिचाह प्रजातिका रैथाने प्रजातिको उन्मूलन गर्ने र जलवायु परिवर्तनसँग जुध्न सक्षम वनको रूपमा विकास गरिने बताए ।