लण्डन, २९ जेठ: युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।
संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।
बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए । गोर्खा सैनिकको समस्याबारे जानकार प्रधानमन्त्री ओलीले हिजो बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भएको बार्तामा समस्या समाधानको प्रस्ताव गरेलगत्तै आज गोरखा ब्रिगेड मुख्यालय पुगेका हुन् ।
बेलायतको काम्बलीस्थि गोरखा सैनिकहरुको मुख्यालय पुगेर प्रधानमन्त्री ओलीले त्यहा कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेट गरेका छन् । प्रधानमन्त्री ओलीले गोरखा सैनिक र तिनका परिवारसँग चासोका साथ कुराकानीसमेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले गोर्खा सैनिक र परिवारका सदस्यसँग कुरा गरेपछि त्यहा उपस्थित गोर्खा परिवारले प्रधानमन्त्री ओलीप्रति आभार प्रकट गरेका थिए ।
प्रधानमन्त्री ओलीले बेलायतस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई पनि सम्बोधन गरेका छन् । साे समारोहमा उनले भने - "नेपालीहरु वीर छन् भन्ने सबैभन्दा पहिले बेलायतले थाहा पायो। ब्रिटिश गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए।"
"नेपाली डायसपोरा जहाँ पुगेको छ, त्यहॉका नागरिकलाई धक्का दिएर हैन मिलेर र सहयोगी भएर बसेको छ, हामी सबै नेपालीले यसमा गर्व गर्नु पर्छ, म गर्व गर्छु" -प्रम ओलीले भने ।
यसै बीच प्रधानमन्त्री ओली र त्यहाँका विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्विनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा जलवायु परिवर्तन, विकास, लाेकतान्त्रिक रुपान्तरण र नेपालमा भएको भूकम्प पछिको पुनर्निर्माणका सम्बन्धमा दुवै नेताहरूबीच छलफल भएको छ । उक्त अवसरमा नेपाल र बेलायतबीच द्वीपक्षीय सम्बन्धका विषयमा समेत छलफल भएको थियो ।
बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।










