प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले वैशाख ३१ गते अर्थात निर्धारित समयमै निर्वाचन हुने भन्दै त्यसलाई सफल बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् ।

उनले मतदातापत्र छपाइलगायतका तयारी कार्य तीव्र गतिमा भइरहेको भन्दै सबै दललाई गम्भीर भएर लाग्न पनि आग्रह गरे । ‘प्रत्येक वडामा दुई महिला पद आरक्षित गरिएको र एकमा दलित महिलाको उम्मेदवारीका लागि संविधानले निर्दिष्ट गरेको छ,’ स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यस विषयमा सचेतना फैलाउन सञ्चार क्षेत्रसँग आग्रह गर्छु ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नेपालको संविधानमा सङ्घीय लोकतान्त्रिक धर्म निरपेक्ष भनी स्पष्ट रुपमा उल्लेख गरिएको अवस्थामा राप्रपाको विधानमा उल्लिखित हिन्दू राष्ट्र र राजतन्त्र संविधानको अनुकूल नभएको देखिएकाले कानुनविद्को सल्लाहमा सो ‘वाक्यांश’ हटाइएको पनि उनले स्पष्ट गरे ।

उनले पत्रकारसको जिज्ञासामा उनले स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ गर्न नसकिने बताए । उनले निर्वाचन आचारसंहिता पालना गराउन आयोग प्रतिबद्ध रहेको र आचारसंहिता पालना नगरेको बारेमा प्रमाणसहित आयोगमा उजुरी आए कारबाही गरिने पनि उनले स्पष्ट पारे ।