काठमाडौँ । यातायात व्यवस्था विभाग निकै फितलो र निम्छरो देखिएको छ । बिहीबार जारी गरिएको सार्वजनिक यातायातसम्बन्धी केही महत्त्वपूर्ण निर्णयहरू जारी गरिएको केही घण्टामै फिर्ता गर्नुपरेपछि विभागको कमजोरी छताछुल्ल भएको हो ।
बिहीबार विभागले सार्वजनिक यातायातको भाडा वृद्धिदेखि रात्रिबस सेवा सञ्चालन र मालबाहक सवारी साधन सञ्चालनसम्बन्धी नयाँ निमय सार्वजनिक गरेको थियो । उक्त निर्णयमार्फत विभागले आगामी असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातमा १२ प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म सवारी भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, असार १ गतेदेखि नै लागू हुने गरी उपत्यकाभित्र रात्रि बस सञ्चालन गर्ने निर्णयसमेत गरेको थियो । तर विभागको सो निर्णय ५ घण्टा पनि टिक्न सकेन । योसँगै रात्रि बस सञ्चालनको निर्णयसमेत अन्यौलतामा फसेको छ ।
सार्वजनिक गरिएको निर्णयको ५ घण्टा पनि बित्न नपाउँदै विभागले पुनः विज्ञप्तीमार्फत सो निर्णय फिर्ता लिएको घोषणा गर्यो । विभागद्वारा गरिएका काम कारबाही, सार्वजनिक सूचना तथा निर्णयमाथि थप अध्ययन गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने आवश्यकताको महसुस भएकाले निर्णय फिर्ता लिएको विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।











