काठमाडौं । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा त्यहीँबाट प्रेस बोकी ल्याएर नेपालमा छापाखानाको स्थापना गरेका थिए । त्यसलाई गिद्दे प्रेस नामाकरण गरिएको थियो । त्यसपछिका प्रधानमन्त्रीले पनि बेलायतको भ्रमण गरेका भए पनि उल्लेख्य उपलब्धी भने भएको पाइँदैन् । तर केपी ओलीको गत जेठ २५ गतेबाट भएको बेलायत र फ्रान्सको भ्रमण निकै उपलब्धिमुलक रहेको छ ।
नाै दिने युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कनु भएको हाे। प्रधानमन्त्री ओली अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकी समारोहमा सहभागी हुन गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियाे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्वीजरल्याण्डको जेनेभामा भएको अन्तराष्ट्रिय श्रम संगठनको शतवार्षिकीलाई सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा श्रमलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राख्नुभएको थियो । सम्बोधन पछि प्रधानमन्त्री ओलीले टर्कीका उपराष्ट्रपति, नर्वेका प्रधानमन्त्री र स्वीजरल्याण्डका पूर्वराष्ट्रपति र वर्तमान गृहमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
त्यसैगरी प्रधानमन्त्री बेलायत भ्रमणका क्रममा जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयले गरेको विशेष कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र, विकास र सुशासनका सम्बन्धमा विचार राख्नुभएको थियो । त्यसैगरी, जेठ २८ गते बेलायती समकक्षी टेरेजा मेसँग दुई मुलकबीचको आपसी हितका विषयमा कुराकानी गर्नुभयो । भेटवार्तामा बेलायती सेनामा कार्यरत गोरखा सैनिकको सम्बन्धमा समेत कुराकानी भएको छ ।
त्यसैगरी, बेलायती राजकुमार ह्यारीसँग बेलायतको ऐतिहासिक दरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो । राजकुमार ह्यारीलाइ नेपाल भ्रमणकाे निम्ताे दिँदै ओलीले भेटवार्तामा भूकम्पपछिको पुन: निर्माण, जैविक विविधता र प्राकृतिक संरक्षणमा नेपालले गरेको उपलब्धिका सम्बन्धमा कुराकानी गर्नुभएको थियो । सोही दिन प्रधानमन्त्री केपी ओलीले बेलायतको संसदलाई संयुक्त रुपमा सम्बोधन समेत गर्नुभयो । बेलायतमा बसोबास गर्ने नेपालीसँग भेटवार्ता गरी नेपालमा लगानी मेत्री वातावरण तयार भएको भन्दै निर्धक्क लगानी गर्न समेत आग्रह गर्नुभएको थियो ।
सोही दिन प्रधानमन्त्री ओलीले बेलायती सेनामा कार्यरत गोरखा सेनाको मुख्यालयको स्थलगत निरीक्षणका साथै गोरखा सैनिकसँग छलफल समेत गर्नुभएको थियो । बेलायती सेनामा कार्यरत गोरखा पल्टनले प्रधानमन्त्री ओलीको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले गोरखा सैनिकसँग सम्बन्धित संघ–संस्थाको प्रतिनिधिसंग भेटवार्ता गर्नुभएको थियो ।
त्यसैगरी, गैरआवासीय संघ र प्रवासी प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभयाे । नेपालमा पानी जहाज कार्यालय स्थापना भएको सन्दर्भमा आपसी सहयोगबारे समेत छलफल गरिएकाे थियाे । प्रधानमन्त्री ओली जेठ ३० गते सुरुङ मार्ग भएर फ्रान्स जानुभयो र सोही दिन फ्रान्सेली उद्योग संघको कार्यक्रममा सहभागी हुनुभयो ।
जेठ ३१ को कार्यक्रमपछि फ्रान्सेली उद्योग वाणिज्य संघका अधिकारीसँग भेटवार्ता गरी दुई पक्षीय हितका सम्बन्धमा छलफल समेत गर्नुभयो । त्यही दिन फ्रान्सेली समकक्षी एर्डवर्ड फिलिपसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । भेटवार्तामा दुई मुलुकबीच द्विपक्षीय सम्बन्धका साथै आपसी हितका बारेमा कुराकानी भए । प्रधानमन्त्रीले जेठ ३१ गते केही स्थानीय पर्यटकीय स्थलको भ्रमण समेत गर्नुभयो ।
भ्रमणपछि नेपाल भ्रमण बर्ष २०२० को फ्रान्समा औपचारीक शुरुवात समेत गर्नुभयो । जेठ ३२ गते नेपाल प्रस्थान गर्नुअधि यूरोपमा कार्यरत विभिन्न देशका राजदुतहरुसँग सामुहीक भेटवार्ता गर्नुभयो । भेटवार्तामा नेपालको परराष्ट्र नीतिबारे निर्देशन समेत दिनुभयो । जनता समाचार बाट साभार










