‘योगश्चित्तवृत्तिनिरोधः’ अर्थात् मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ। ‘योगः कर्मसु कौशलम्’ अथवा योगले कुशलतापूर्वक काम गर्न सक्षम बनाउँछ । ‘योगस्थः कुरु कर्माणि’ अर्थात् योगमा स्थिर भएर काम गर। योगका बारेमा विभिन्न ग्रन्थमा यसरी चर्चा गरिएको छ। संस्कृत भाषामा योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ। मानिस दुःखमा बाँचिरहेको हुन्छ। कसरी सुखी खुशी हुने भन्ने खोजीमा हुन्छ। खुशीको स्रोत आफैँभित्र हुन्छ । त्यहाँ सम्पर्क गर्ने अथवा जोडिने अभ्यासलाई नै योग भनिन्छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो। अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले प्रस्ताव गर्नुभयो। प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नुभएको थियो । यो प्रस्तावलाई हाल विश्वका १७० देशले समर्थन गरिसकेका छन् । योग दिवसका अवसरमा विभिन्न सङ्घसंस्थाले असार ६ गते अर्थात् २१ जुनका दिन विविध कार्यक्रमको आयोजना गर्दैछन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोरखापत्र अनलाइनका अनुसार २०७२ सालदेखि राष्ट्रिय योग दिवस माघ १ गतेलाई मानिएको छ। उत्तरायण शुरु दिन पारेर माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय मन्त्रिपरिषद्ले २०७२ साउनमा गरेको थियो। नेपाल संस्कृत विश्वविद्यालय योग विभाग प्रमुख डा हरिप्रसाद पोखरेलले नेपाललाई विश्वमै योग पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुहुन्छ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले देशभरका ७५ गुरुकुल, एक दर्जन विद्यालयमा योग र ध्यानको कार्यक्रम अघि बढाएको छ । योग, ध्यान, यज्ञ र आयुर्वेदका माध्यमबाट वैदिक युगको पुनःजागरण गर्न लागिएको फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटा बताउनुहुन्छ। भावातीत ध्यानसहितको सिद्धि गरेका वैदिक पण्डितले युरोप अमेरिकाका मानिसको ग्रह शान्ति गर्न यज्ञ गर्दै आएका छन्। यसका लागि विदेशी पर्यटकको नेपाल आवागमन भइरहने गरेको छ।

पतञ्जलि योग पीठले ७५ वटै जिल्लामा शाखा खोलेर ४० हजार योग शिक्षकमार्फत योगको पुनःजागरण शुरु गरेको जनाएको छ। ओशो तपोवनमा योग ध्यानलगायत साधनाका लागि धाउने विदेशीको सङ्ख्या पनि उल्लेख्य छ।

नेपालीले योग गरेर निरोग भए विदेशिने अर्बौँ डलर स्वास्थ्यका नाममा जानबाट रोकिने पतञ्जलि योग पीठका अध्यक्ष शालिकराम सिंह बताउनुहुन्छ। योग प्रशिक्षक निर्यात गर्नसके श्रमका लागि विदेशिएकाले भन्दा राम्रो र इज्जतको रोजगारीको अवसर विदेशमा पाउने सम्भावना रहेको उहाँको भनाइ छ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले देशका ७२ जिल्लामा राजयोग र ध्यान सिकाउने अभियान शुरु गरिएको जानकारी दिनुभयो। दिवस मनाउन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।