काठमाडौं। गर्मी लगातार बढिरहेको छ । गर्मीका कारण मानिसहरु घरबाहिर निस्कन समेत गाह्रो मान्न थालेका छन् । नेपालको तराइ क्षेत्रमा अत्याधिक गर्मी बढेको छ । अत्याधिक गर्मीका कारण भारतको बिहार भने अत्याधिक प्रभावित भएको छ । बिहार राज्यमा शनिबार र आइतबार दुई दिनमा अत्याधिक गर्मी र लूका कारण १ सय ४३ जनाको ज्यान गएको दैनिक भास्करले लेखेको छ ।
समाचारमा जनाइएअनुसार बिहार राज्यमा मात्र शनिबार ६६ र आइतबार ७७ जनाको ज्यान गएको छ । औरंगाबाद जिल्लामा मात्र आइतबार एक दिनमै ३० जनाको ज्यान गयो । सबैभन्दा धेरै १७ जनाको मृत्यु औरंगाबाद सदर अस्पतालमा भयो । नवादामा १२, पटनामा ११, गयामा ९, बक्सरमा ७ र आरामा पाँच जनाको लूका कारण ज्यान गएको समाचारमा उल्लेख छ ।
आइतबार बिहार राज्यभरीमा पटना सबैभन्दा गर्मी रह्यो । यहाँको तापक्रम ४५ डिग्री सेल्सियस रहेको जनाइएको छ । गयाको अधिकतम तापक्रम ४४.४, भागलपुरको ४१, मुजफ्फरपुरको ४२.६ रह्यो । औरंगाबादमा आइतबार पनि डाक्टर निकै विवश देखिए । अस्पतालमा हरेक आधा घण्टामा १ जनाको ज्यान गइरहेको थियो । लगातार बिरामीको बाढी सदर अस्पताल आइरह्यो । नियमित अन्तरालमा बिरामीको मृत्यु भइरह्यो । गयामा पनि लूका कारण २ दिनमा ३४ जनाको ज्यान गइसकेको छ ।
यही समयमा आज भने यहाँका सबै अस्पतालमा डाक्टर हडतालमा छन् । पश्चिम बंगालका डाक्टरको समर्थनमा ओपिडी समेतका स्वास्थ्य सेवा आज बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि बन्द गरिएका छन् । आकस्मिक सेवा भने सुचारु रहनेछ ।










