काठमाडौं- बिहीवारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आइतवार पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमवारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार शनिवार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम पुगेको बताइएको छ ।

कँडेलका अनुसार सोमवारसम्ममा देशभर मनसुन सक्रिय हुनेछ । उक्त मनसुनको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेकाले बाढीपहिरो आउन सक्ने भनी सचेत रहन आग्रह गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राति देशका पश्चिमी भू-भागहरूमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ ।

मंगलवार देशको मध्य पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली भई पूर्वका केही स्थानका साथै मध्य तथा पश्चिमका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आइतवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३९ दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।