युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मुलुकलाई विभाजन गर्न चहाने, बिखण्डन गर्न खोज्ने, र मुलकुलाई बलात्कार गर्न चहाने ब्यक्ति वा संस्थालाई फाँसी दिने ब्यवस्था राख्ने भए संविधान संशोधन गर्न एमाले तयार रहेको बताएका छन् । उनले मधेसी दलहरु ‘भुरेटाकुरे’ भएको आरोप समेत लगाए ।
“तराईतिर भुरेटाकुरे मधेश केन्द्रीत दलहरुले संविधान संशोधनको लागि आन्दोलनमा छौं, आन्दोलन गरिरहेका छौं भनिरहेका छन् । आन्दोलन कहाँ छ, के मा छ, थाह छैन” प्रेस चौतारी नेपाल लमजुङ शाखाले सोमबार बेंसी सहरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष पहारीले भने ।
उनले मधेशकेन्द्रीत दलहरुले सिरकभित्र आन्दोलन गरिरहेको भन्दै त्यसको कुनै अर्थ नभएको बताए । “बरु टुँडिखेलमा आउन आग्रह गर्छु, पानी र ओत्ने ब्यवस्था युवा संघले गर्छ” पहारीले भने ।
काँग्रेस आफैं धामी, आफैं बोक्सी बनेको बताए । “कांग्रेस आफूलाई लोकतन्त्रको ठूलो अंसियार ठन्छ । अहिले यो वा त्यो नाउँमा काँग्रेस चुनावबाट भाग्दैछ । संविधान संशोधन नगरी चुनावमा जान सक्दैनाँै भन्दैछ,’ उनले भने, ‘एमालेको लहर बढ्दै गएको छ । एमालेमा आउने क्रम चलेको छ । काँग्रेस बाहना बनाएर निर्वाचन नगराउने खेलमा छ ।”
कार्यक्रममा बोल्दै अध्यक्ष पहारीले ‘नेपालमा फाँसीको ब्यवस्था नभएकाले अराजकता फैलिएको बताउँदै संशोधन गर्ने हो भने सिके राउत प्रवृत्तिका ब्यक्तिलाई फाँसी दिनु पर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले खुलेआम मुलुकलाई विभाजन गर्छु, बिखण्डन गर्छु, तराई मधेश छुट्टै राज्य हो, मुलुक हो भन्दै हिँड्दा समेत सरकारले केह ीगर्न नसकेको बताए ।



