असार १४, २०७६/ जनकपुरधाम – कानून अनुसार नेपालमा २० वर्षअघि बिहे गर्न पाइँदैन । कानूनमा कडा प्रावधान भएपनि बालविवाह गर्न प्रवृत्ति रोकिएको पनि छैन । कानून अनुसार बालविवाह गर्ने/गराउने सबैलाई दण्ड र कैदको प्रावधान राखिएको छ तर धनुषामा उमेर नै नपुगेका किशोरकिशोरी विद्यालय पढ्दापढ्दै भागेर बिहे गर्ने प्रवृति बढेको छ ।
बिहे गर्ने उमेर २० वर्ष भएपनि १४ वर्षीयसम्मका किशोरकिशोरीले आमाबुवालाई थाहै नदिई कलिलो उमेरमै केटासँग भागी बिहे गर्ने र बेपत्ता हुने डरलाग्दो प्रवृति देखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बाल विकास सेवा केन्द्रमा बालविवाहको मुद्दा नआएको कुनै दिन हुँदैन ।
प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक गीता कार्कीले दैनिक ३–४ वटासम्म उजुरी आउने गरेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ को जेठ महिनासम्म जिल्ला प्रहरी कार्यालय धनुषामा किशोरकिशोरी भाग्ने शीर्षकमा १ सय ५ वटा उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि छानबिन गर्दै प्रहरीले भागेका किशोरकिशोरीमध्ये ३७ वटा मुद्दाका किशोरकिशोरीलाई फेला पारेर सम्बन्धित अभिभावकको जिम्मा लगाइएको छ ।
धनुषा प्रहरीले ७ वटा उजुरी धनुषा जिल्ला अदालतमा दर्ता गराएको छ । अदालतमा मुद्दा पठाउँदा किशोरीका बुवाले आफ्नी छोरीलाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै मुद्दा नै दर्ता गर्छन् । उजुरी परेकामध्ये ६१ वटा उजुरीमा प्रहरीले कुनै छानबिन नै गर्न सकेको छैन । बिहे गरेर भागेका भनिएका किशोरकिशोरीलाई प्रहरीले पत्ता नै लगाउन सकेको छैन ।
आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला प्रहरी कार्यालय धनुषामा किशोरकिशोरी भाग्ने शीर्षकमा ९१ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये प्रहरीले ४ वटा उजुरी उपर सुनुवाइ गर्दै मातहत पठाएको थियो भने १९ वटा उजुरीमा मिलापत्र समेत गराएको थियो । एउटा उजुरी धनुषा जिल्ला अदालतमा मुद्दा बनाएर दर्ता गरिएको छ । उजुरीमध्ये ६७ वटा उजुरीमा प्रहरीले कुनै छानबिन नै गर्न सकेको छैन ।
महिला तथा बालबालिका सेवा केन्द्रका इन्चार्ज समेत रहेका प्रहरी नायव निरीक्षक रामकृष्ण चौधरीका अनुसार कलिलै उमेरमा भाग्नेहरू अधिकांश विद्यालय नै पढिरहेका किशोरकिशोरी हुने गरेका छन् ।
सामुदायिक विद्यालयदेखि संस्थागत (निजी) स्कूलमा पढ्ने विद्यार्थीदेखि कलेज पढ्ने केटाकेटीले भागेर विवाह गर्ने गरेका छन् । मोबाइल चलाउँदा सामाजिक सञ्जालमा प्रेममा पर्ने, पढ्दा कक्षामै प्रेमजालमा परेर अपरिपक्व उमेरमा लक्ष्य नै थाहा नभएर पनि भाग्ने गरेका छन् । वैदेशिक रोजगारीमा रहेका पुरुषका पत्नी बालबच्चा समेतलाई छाडेर अन्य पुरुषसँग भागेका उजुरी पनि आउने गरेका सई चौधरीले बताए ।
केटी भागेको अवस्थामा केटीका आमाबुवाले उजुरी लिएर आउने गरेका छन् तर बालविवाहमा केटा पक्षले भने खासै उजुरी दिने गरेका छैनन् । वैदेशिक रोजगारीमा रहेको व्यक्तिका पत्नी भागेको अवस्थामा विदेशबाट फर्किएर पतिले उजुरी दर्ता गराउने गरेका छन् । उजुरी दिँदा किटानसहित फलानो केटा वा पुरुषले आफ्नो छोरी वा पत्नीलाई अपहरण गरेर लागेको भन्दै उजुरी दर्ता गर्ने गरिएको छ । उजुरी दर्ता भएपनि कतिपय घटनामा प्रहरीले खोजतलास गर्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीका अनुसार बालविवाहका घटनामा कतिपय जोडीलाई खोजेर अभिभावकको जिम्मा लगाइएको छ तर कतिपय किशोरकिशोरी भारतमा गएर लुकीछिपी बस्ने गरेका कारण पत्ता लगाउन समस्या हुने गरेको छ ।
‘बालविवाह एकअर्काबीच आकर्षणले हुन्छ । कतिपय पढ्दापढ्दै भाग्ने फेशनजस्तै पनि भएको छ,’ उनले भने, ‘अहिले केटाकेटीको हातहातमा मोबाइल र इन्टरनेटसम्मको पहुँच भएको छ, जसकारण सामाजिक सञ्जालमा कुराकानी गर्दै प्रेममा परेर भाग्ने गरेका अधिकांश घटनाको अनुसन्धानबाट खुल्ने गरेको छ ।’
कतिपय घटनामा प्रहरीले खोजतलास गरेर फर्काएर ल्याई अभिभावकको जिम्मा लगाउँदा फेरि ३/३ पटकसम्म भाग्ने गरेका उदाहरण पनि रहेका सई कार्कीले बताइन् । ‘कतिपय किशोरी गर्भवति समेत भएको अवस्थामा फर्किने गर्छन् । कोही–कोही आफैं पनि प्रहरीमा आएर उपस्थित हुने गर्छन् । खासमा अभिभावकको लापरवाहीका कारण किशोरकिशोरी भाग्ने गरेका छन्,’ सई कार्कीले भनिन्, ‘अभिभावक आफ्नो काममा मात्र व्यस्त हुने, छोराछोरी के गर्दैछन् भन्ने कुराको सोधीखोजी नगर्ने कारण कम उमेरमा नै केटाकेटी भाग्ने गरेका छन् ।’
प्रहरीले खोजतलास गरेर फिर्ता ल्याई मिलापत्र गरेर अभिभावकको जिम्मा लगाउन खोज्दा भाग्ने छोरीले आमाबुवाका सामुन्ने नै विद्रोह गर्ने गरेको समेत देखिने गरेको प्रहरीको अनुभव छ । ‘प्रहरीकै सामुन्ने यो मेरो श्रीमान हो, बिहे समेत गरिसकें । एकसाथ महिनौं बसिसकें, नभए आत्महत्या नै गर्छु भन्नेसम्मको चेतावनी छोरीले आमाबुवालाई दिने गरेका हुन्छन्,’ सई कार्कीले भनिन्, ‘पछि सम्झाइबुझाई गरेर किशोरीलाई आमाबुवाको जिम्मा लगाउने गरिएको छ ।’श्रोत-लोकान्तर बाट साभार गरिएको










