मोरङ– मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको डाइनियास्थित एक मस्जिदको सेफ्टी ट्याङ्की निर्माणका क्रममा निसासिएर चारजनाको मृत्यु भएको छ। डाइनिया–९ मा निर्माण भइरहेको मर्कज मस्जिदको सेफ्टी ट्याङ्कीको ढलान सेट्रिङ खोल्ने क्रममा शनिबार एकपछि अर्को गर्दै उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गएको दुई महिनादेखि निर्माण भइरहेको १० फिटको सेफ्टी ट्याङ्कीको ढलान निकाल्ने क्रममा सुरुमा २२ वर्षिय ओसिब आलम ट्याङ्की भित्र पसेका थिए।
स्थानीयका अनुसार ट्याङ्की भित्र पानी जमेको र साँघुरो भएकोले आलम सेट्फी ट्याङ्की भित्रै बेहोस हुन पुगे। आलम बेहोस भएलगत्तै उनलाई बचाउन १९ वर्षीय सहनवाद सेफ्टी ट्याङ्की भित्र पसेका थिए। सहनवादपनि भित्रै बेहोस भएपछि, त्यहाँको अवस्था निकै त्रासदीपूर्ण बनेको थियो। त्यसपछि आलम र सहनवादलाई ट्याङ्की भित्रबाट निकाल्न अरुले आट गर्न सकेनन्।
सुनवर्षी–९ कै २५ वर्षिय मोहम्मद फिरोज आलम बेहोस अवस्थामा रहेका दुवैजनालाई निकाल्न तयार भए। उनी बाँसको टेको लगाएको ट्याङ्की भित्र पसे। ट्याङ्की भित्र पसेसंगै फिरोजपनि बेहोस हुन पुगे। सेफ्टी ट्याङ्कीभित्र एकाएक तीन जना बेहोस भइसकेपछि, फिरोजका ६० वर्षीय बुबा मोहम्मद कपिल आलम उनीहरुलाई बचाउन ट्याङ्की भित्र पसे।
ट्याङ्की भित्र पसेका कपिल आलम पनि बाहिर बसेकालाई जवाफ दिन नसक्दै बेहोस भएका थिए। त्यसपछि त्यहाँको वातावरण थप तनावमय बन्न पुग्यो।
यसैबीच दोमर अलीले डोरीको पासो बनाई विस्तारै चारै जनालाई ट्याङ्कीबाट बाहिर निकाल्न सफल भए। सो क्रममा चारै जनालाई प्रथामिक उपचार क्रममा मुखबाट श्वास दिने क्रममा ४० वर्षिय दाउद मियाँ भने घाइते भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
उपचारका लागि रंगेली अस्पतालमा भर्ना गरिएका मियाँको अवस्था गम्भीर रहेको बताइएको छ। त्यसैगरि अन्य चार जनाको भने रंगेलीस्थित जिल्ला अस्पताल र टाइम्स हस्पीटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना गरिएको थियो।
चिन्ताजनक अवस्थामा उपचारका लागि रंगेली र टाइम्स अस्पतालमा चिकित्सक नभेटिदा उनीहरुको मृत्यु हुन पुगेको आरोप आफन्तजनको रहेको छ। आक्रोशित आफन्तजनको समूहले रंगेली अस्पतालमा नाराबाजी र तोडफोडसमेत गरेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङले भने रंगेलीबाट चारै जनालाई थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल पुराइएको थियो। उनीहरु सबैको गोल्डेन अस्पताल पुर्याउने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ।
https://www.facebook.com/275700246214455/videos/352673482069866/









