भद्रपुर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । डेंगुको सङ्क्रमणबाट मृत्यु हुनेमा मोरङ मङ्गलवारे स्थायी घर भएका बालक कमल गाउँपालिका ४ स्थित मामा घरमा बस्दै आएका १४ वर्षीया बालक रिजेन राई रहेको कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार मामा घरमै बसेर फोनिक्स अङ्ग्रेजी विद्यालय कमलमा कक्षा ९ मा अध्ययनरत बालक राईको उपचारको क्रममा शुक्रवार मृत्यु भएको हो । बुधवारदेखि बिरामी परेका बालक राईलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रवार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र विपीमा उपचारका लागि सघन उपचार कक्ष खाली नभएपछि विराट नर्सिङ अस्पताल विराटनगर लैजाँदै गरेको अवस्थामा उनको बाटैमा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । ‘बालकको डेंगुको सङ्क्रमणबाटै मृत्यु भएको हो, स्वास्थ्य शाखा प्रमुख मिश्रले भने, ‘विस्तृत रूपमा रिपोर्ट हेरेपछि यस विषयमा थप कुरा बोल्न मिल्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश एकको सुनसरीको धरानबाट फैलिएको डेंगुको सङ्क्रमणबाट झापामा हालसम्म २७ जना बिरामी फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । डेंगुको सङ्क्रमण फैलिन नदिन झापाका १५ वटै स्थानीय तहमा औषधि छर्नेदेखि जनचेतनामुलक कार्यक्रम हुँदै आइरहेको छ । सन् २०१२ मा झापाको काँकडभिट्टामा देखा परेको डेंगु रोगको सङ्क्रमणका कारण यस अघि झापामा तीन जनाको मृत्यु भएको छ ।