सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मंगलवार बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नम्बरको बस र ना५ख ७७९५ नम्बरको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार ३ र ट्रकका चालकसहित ३ गरी ६ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अवरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।
घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, त्यहीका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।










