काठमाडौँ– विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि बताए । प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल स्मृति प्रतिष्ठानद्धारा मङ्गलबार आयोजित सगरमाथा आरोही सम्मान कार्यक्रमका सहभागीहरुले सानै उमेरमा निधन भएका प्रकाशले छोटै समयमा भएपनि मुलुकको राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको चर्चा गरेका हुन् ।

कार्यक्रममा प्रकाशका पिता तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ बर्षकै उमेरमा सवै अनुभव संगालेको बताए । ‘सबै तितामिठा अनुभव प्रकाशले अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि’, प्रचण्डले भावुक हुँदै आफु प्रधानमन्त्री हुँदा उनले गरेको सहयोग अविस्मरणीय भएको बताए । प्रकाशको बाल्यकाल प्रतिकुल वातावरणमा वितेपनि उनी पछिल्लो परिपक्क भैसकेको प्रचण्डले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘जनयुद्ध ताका धेरै स्कुल फेरियो, कहिँ स्थिर भएर पढ्न सक्ने अवस्था भएन । युद्धमा गएपछि आफै सहभागी भएर विचित्रको अनुभव गरे । शान्ति प्रकृयामा पनि उनले उनले दिएका योगदान अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गए’ प्रचण्डले स्मरण गरे । उनले मृत्युवरणमा पनि देश र पार्टीलाई सहयोग गर्दागर्दै गएको आफुलाई अनूभुति भएको प्रचण्डले स्मरण गर्दै प्रकाशका राम्रा पक्षलाई स्मरण गर्नुपर्ने जिम्मेवारी आफुहरुमा रहेको बताए । ‘उनका राम्रा पक्षलाई देश र जनताको पक्षमा सदुपयोग गर्नुपर्ने जिम्मेवारी हामीमा छ’ प्रचण्डको भनाई थियो ।

कार्यक्रममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताए । ‘सगरमाथा चढेर सफलता प्राप्त गर्नु निकै कठिन काम हो । अझ जीवन संगिनीलाई समेत सँगै लिएर सगरमाथा चढ्नु विशिष्ट काम र खुवी हो’ नेता नेपालले भने, ‘प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै हात नै भाँचिएको जस्तो भएको आफुलाई महशुस भएको बताए । पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै उनले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि अपडेट हुने खुवी रहेको बताए ।

उनले प्रकाशले सगरमाथामा नेपालको झण्डा पुर्याएर नेपालको सान र मान राख्ने काम गरेको स्मरण गरे । कार्यक्रममा काँग्रेस नेता डा प्रकाश शरण महतले प्रकाश दाहालले शान्तिप्रकृयापछि विभिन्न राजनीतिक दल र तत्कालिन माओवादी केन्द्रबीच पुलको रुपमा काम गरेको बताएका थिए । त्यस्तै राजपाका नेता महेन्द्र यादवले प्रकाशले प्रकाश दाहालले नेपाली राजनीतिमा उल्लेखनीय योगदान दिएको बताए ।

प्रकाश पत्नि विना मगरले सगरमाथा चढ्दा जुनेली रातमा एउटा डोरीमा मृत्युसँग जुध्दै सगरमाथाको यात्रा तय गरेको स्मरण गरेकी थिइन् । प्रकाश दाहालको ३६ बर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा सगरमाथा आरोहीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।रातोपाटी