जनयुद्धको बेलामा तत्कालिन माओवादीले भन्ने गरेको बुर्जवा शिक्षाप्रति अहिले माओवादी नेताहरुको मोह बढ्दैछ । सामान्य कार्यकर्ता मात्रै होईन नेतादेखि मन्त्रीसम्मलाई अहिले पढाईले पिरोल्न थालेको छ । अहिले तत्कालिन माओवादीका नेताहरु उमेर ढल्किए पनि पढाईतिर बढी ध्यान दिन थालेका छन् ।
माओवादीले कतिपयलाई पढ्दा पढ्दै जनयुद्धमा होमाएको थियो । कतिपय किताब कापी फालेर स्वइच्छाले हिडेपनि कतिपय बाध्यताले जनयुद्धमा हिँडेका थिए । देशकाे शिक्षा प्रणालीलाई त्यसताका माओवादीले बुर्जुवा शिक्षा भन्ने गरेको थियो ।
यसको पछिल्लो उदाहरण हुन् वन तथा वातावरण मन्त्री शक्ति बस्नेत । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर डिग्री गर्दैछन् । उनले आज नयाँबानेश्वरस्थित गोल्डेनगेट कलेजबाट स्नातकोत्तर तह पहिलो वर्षको दोस्रो पेपर (द्वन्द्व तथा विकास)को जाँच दिएका छन् । उनी झण्डावाला गाडीमै परीक्षा दिन गएका छन् । त्यसोत बस्नेतले गत बिहीबार पहिलो पेपर (राजनीतिक सिद्धान्त तथा विश्लेषण)को परीक्षा दिएका थिए ।










