हाल अधिकांश जोडी लामो समयसम्म डेट गरेपछि विवाह बन्धनमा बाँधिन्छन् । तर, केही समयपछि उनीहरुबीच फाटो आउन थाल्छ । केही सम्बन्ध त पारपाचुकेसम्म पुग्न सकछ । यस्तो स्थितिबाट बच्न दम्पतीले केही गल्तीबाट बच्नु अत्यन्त आवश्यक छ ।एक्सको लागि चिन्तित हुनु=विवाहपछि आफ्नो एक्स अर्थात् पूर्व प्रेमीसँग राम्रो मित्रता कायम गरे पनि उसको बारेमा धेरै चिन्तित हुनाले, धेरै कुराकानी गर्नाले आफ्नो पति अथवा पत्नीलाई असुरक्षित महसूस हुन सक्छ । यो झगडाको बीज पनि बन्न सक्छ र यसले सम्बन्धमा फाटो ल्याउन सक्छ ।
सानोसातो कुरामा झगडा गर्नु =भन्ने गरिन्छ वैवाहिक जीवनमा सानातिना झगडा त भइरहन्छन् । तर, यस्ता झीनामसिना कुराले नै दम्पतीलाई एकअर्काप्रति नकारात्मक बनाउँछ । पछि यो सानो झगडाले उग्र रूप पनि लिन सक्छ । त्यसैले सम्बन्धलाई बलियो बनाउन यस्तो स्थितिलाई सम्हाल्नु आवश्यक छ । आफ्नो भावना प्रस्तुत नगर्नु =तपाईं कस्तो महसूस गरिरहनुभएको छ ? आफ्नो जोडीको कुन कुरा तपाईंलाई मन परिरहेको छैन र कुन कुराले तपाईंलाई चिन्तित बनाइरहेको छ, यस्ता भावनासँग सम्बन्धित कुरा मनमा गुम्साएर राख्नु घातक हुन सक्छ । त्यसैले आफ्नो भावना खुलेर प्रस्तुत गर्नुपर्छ । यसले दम्पतीबीचको दूरी हटाउन सहयोग गर्दछ ।
ईर्ष्या=वैवाहिक जीवनमा बाँधिसकेपछि एकअर्काप्रति ईष्र्या भन्ने चिज नै रहँदैन भनिन्छ । दुवै एकअर्काको भइसकेपछि एकअर्काप्रति समर्पित भइसकेपछि ईष्र्याको भावना उत्पन्न हुने ठाउँ नै रहँदैन भन्ने गरिएको छ । तर, ईर्ष्या भन्ने कुरा कोहीसँग पनि कुनै पनि बेला उत्पन्न हुन सक्छ । त्यसैले यदि केही कुरामा ईष्र्या उत्पन्न भएको छ भने आफ्नो जीवनसाथीलाई त्यसको बारेमा खुलेर बताउनु जरुरी छ । कुनै पनि कुरा मनमा लुकाएर राख्नु जीवनको लागि नै हानिकारक हुन सक्छ ।
एकअर्काको रुचिको सम्मान गरौं=पतिपत्नी भइसकेपछि हरेक कुरा बाँड्नुपर्ने हुन्छ । यस्तोमा आफ्नो जीवनसाथीको व्यक्तिगत रुचिको सम्मान गर्नु आवश्यक छ । विवाहको प्रारम्भिक समयमा नै एकअर्काको रुचिको बारेमा थाहा पाउनु सबैभन्दा राम्रो हुन्छ । किनकि, एकअर्काको रुचि, व्यक्तित्वको सम्मान नगर्ने हो भने यही कुराले नै झगडा उत्पन्न गरेर सम्बन्धमा फाटो ल्याउन सक्छ ।सम्पत्तिको व्यवस्थापन=पैसा यस्तो वस्तु हो जसले सम्बन्ध जोड्न पनि सक्छ र छुटाउन पनि सक्छ । परिवारमा एक जना मात्र कमाउने होस् अथवा पतिपत्नी दुवैले कमाउने होऊन्, पैसाको व्यवस्थापन अत्यन्त जरुरी छ । घर, गाडी किन्नु, भ्रमणको योजना बनाउनु, ऋण लिनु र दिनु जस्ता हरेक कुराको निर्णय एक्लैले लिनु हुँदैन । आफ्नो जीवनसाथीलाई पैसासँग सम्बन्धित हरेक निर्णयमा सहभागी गराउनु आवश्यक छ ।



