पोखरा । गोरखामा केहि दिन अघिदेखि एउटा घटनाले डरलाग्दो रुप सिर्जना गरेको छ। गएको हप्ताको बुधबार रातिदेखि गायव भएका यारुबगरका व्यवसायी धनकमल गुरुङको अवस्था अज्ञात नै छ। उनलाई आक्रमण गर्नेहरू समेत नौ जना अझै बेपत्ता रहेकोले प्रहरीको टाउको दुखाइको विषय बनेको छ।

यसै बारेमा बुझ्न असार १८ गते बुधबार बिहानै प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेले गोरखाका एसपी भोला रावललाई फोन हाने। रावलले डिआइजीको फोन नउठाएको तीन दिन भइसकेको थियो। पटक पटक फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि डिआइजीले प्रहरीकै सञ्चारमार्फत गोरखाका एसपीलाई फोन हान्न निर्देशन दिए। तर, पनि फोन आएन। केहि बेरपछि एसपी रावलले डिआइजीलाई आफैँ फोन गरे तर रक्सीले मातेर बेसुर भएर।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘उहाँले मलाई फोन गरेर गाली गरेर त उल्कै गर्नु भो नी गीत गाउनेदेखि सारा गर्नु भो,’ एसपी रावलले रक्सी खाएको पुष्टि गर्दै डिआइजीले भने, ‘अत्ति भयो भनेर यहाँबाट एसपीलाई चेकजाँच गर्न कसलाई पठाउने भनेर फेरि एसएसपीसापको टिम पठाएँ। गोरखा हस्पिटलकै डाक्टरलाई बोलाएर मेडिकल गर्दा पोजेटिभ देखियो।’ जिल्लाको एसपीलाई त्यसै उठाउनुभन्दा अनुसन्धानपछि कारबाहीको प्रक्रिया अघि बढाउन लागेको डिआइजीले बताए।

‘माथिको आदेश र यहाँको अनुसन्धानको रिपोर्ट कुरेर बसेको छु,’ उनले भने, ‘अनुशासनभन्दा बाहिर गएकोले त्यसैअनुरूप कारबाही हुन्छ।’ प्रदेश प्रहरीको प्रमुखको भूमिकामा आएपछि हरेक दिन बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म जिल्लाका प्रमुखहरूलाई प्रदेशमा फोन गरी कार्ययोजना सुनाउनै पर्ने बनाएका थिए। ‘कार्ययोजना सुनाउनु पर्ने मान्छे तीन दिनदेखि बेपत्ता।’ यस विषयमा बुझ्न एसपी भोला रावललाई फोन गर्दा आफूले गीत गाएको अस्वीकार गरे। उनले भने, ‘कस्ले भन्यो यस्तो। कहाँ गीत गाएर सुनाउनू।’ थाहाखबरबाट