काठमाडौं । ३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखामा ओम अधिकारीको सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै ईश्वर कार्की महानगरीय अपराध महाशाखा, कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाई र भोला रावल ६ नम्बर प्रदेश सरुवा भएका हुन् । बुधबार गोरखाका प्रमुख रहेका एसपी रावल कार्यालय समयमै रक्सीमै झ्याप भएको अवस्थामा फेला परेका थिए । उनी दिउँसै मान्छे नचिन्ने गरी रक्सीले झ्याप भएर कार्यालयमा सुतिरहेको अवस्थामा फेला परेका हुन् ।

पछिल्लो समय त उनी प्रदेश प्रहरी कार्यालयको सम्पर्कमा समेत नभएपछि प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरे आफैंले फोन गर्दा पनि रक्सीले मातिएको अवस्थामा फोनमा कुरा गरेको प्रहरीले जनाएको छ । घिमिरेले एसएसपी हरिराज वाग्लेको कमाण्डमा फिल्डमा अनुगमन पठाउँदा समेत एसपी रावल रक्सीले झ्याप भएको अवस्थामा भेटिएको र मेडिकल रिपोर्ट समेत सोही अनुसारको आएको प्रहरीले जनाएको छ ।