(पार्थ मण्डल) भद्रपुर । पछिल्लो समयमा जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने घटना ह्वात्तै बढेको छ । विशेष गरी जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रबाट बढी मोटरसाइकल चोरी हुने घटनाका बारेमा उजुरी पर्न थालेपछि झापा प्रहरीले गिरोह पक्राउ गर्न विशेष अभियान सुरु गरेको छ ।

प्रहरी विशेष अभियानको क्रममा प्रहरी कार्यालय झापाले यही महिनाभित्रै चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १३ जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका २ बस्ने १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोबिन राजवंशी, बाह्दशी गाउँपालिका ७ बस्ने१९ वर्षीय विनोद मुर्मु, सोही गाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारी

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउँका प्रकाश न्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले झापाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरीको १९ वटा मोटरसाइकलसहित पक्राउ गरेको हो । बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर रहेको जनाइएको छ । उनीहरूले चोरी गरिएको मोटरसाइकल पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेट परिर्वतन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको १९ वटा मोटरसाइकल मध्ये सात वटाको वास्तविक नम्बर खुलेको छ ।

मे ९ प ४५५५, को १० प २६५१, मे ८ प ९३८३, मे ११ प १०१२, मे ५ प ९३९१, को ३१ प ९७७७ र मे ७ प ७६६३ मोटरसाइकलको नम्बर खुलेको डिएपसी श्रेष्ठले बताए । ‘नम्बर खुलेको मोटरसाइकल कानुन प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउँछौ’, उनले भने, ‘धनीहरू कोही सम्पर्क आइसकेका छन् भने, कोही आउन बाँकी छ ।’ नम्बर नखुलेको मोटरसाइकलहरू यातायातबाट पहिचान गरी सम्बन्धित धनीलाई बुझाउने तयारीमा प्रहरी लागि परेको उनले बताए । यता पक्राउ परेका १३ जनालाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइसकेको उनको भनाई छ ।