भद्रपुर । करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई झापा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा झापा गोलधाप गाविस हाल हल्दिबारी गाउँपालिका ७ भुल्का गाउँ बस्ने २७ वर्षीय दीपेश न्यौपाने, दमक नगरपालिका १ बस्ने ४२ वर्षीय सञ्जय खरेल भन्ने (खगेन्द्र), सङ्खुवासभा खादबारी नगरपालिका ८ हिंगुवा घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका ७ दुलारी बस्ने २१ वर्षीय कमल कोइराला भन्ने (लालमणि कर्णखर), सताक्षीधाम गाविस हाल शिवसताक्षी नगरपालिका १० सैनिक बस्ती बस्ने ६४ वर्षीय चौहान साईला भन्ने रामचन्द्र चौहान र मोरङ उर्लाबारी नगरपालिका १ झारसादी टोल बस्ने १९ वर्षीय मनिष माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई शुक्रवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । एसपी मैनालीका अनुसार सुनसरी इटहरीबाट खरेल र कोइरालालाई वैशाख ३० गते र माझीलाई जेठ २ गते , झापाबाट न्यौपानेलाई वैशाख २९ र चौहानलाई वैशाख ३० गते पक्राउ गरेको बताए । उनीहरूले गत वैशाख २९ गते बिहान कनकाई नगरपालिका ४ स्थित कनकाई नदीको पुलको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसर कुकुर बम राखेका थिए ।

मोर्चाले सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अगिकृत नागरिकता फिर्ता, सङ्घीयता खारेज, भ्रष्टाचारलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राख्दै झापामा बम आतङ्क मच्चाएका थिए । यता पक्राउ परेका पाँचै जनालाई विस्फोटक पदार्थ तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको एसपी मैनालीले जानकारी दिए । टाईम्स अफ प्रदेश बाट साभार