चाबहिलको पशुपति मावि छेउ भएको ‘ग्याङ फाइट’मा संलग्न ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई छन् ।  काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ । दुई दिनअघि भएको झगडामा दुई जना घाइते भएका थिए । घाइतेमध्ये विजय बानियाँको अवस्था गम्भीर छ । हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत बायिनाँको पेटमा छुरी प्रहार भएको थियो ।

हाल उनलाई भेन्टिलेटरमा राखिएको छ । अर्का घाइते सुदीप घिमिरेको छातीमा चक्कु प्रहार भएको थियो । उनी उपचारपछि डिस्चार्ज भइसकेका छन् । प्रहरीका अनुसार चिया खाने ठाउँमा दुवै समूहका युवाबीच ‘आँखा तरातर’ हुँदा झगडा भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अहिलेसम्म अन्य कारण देखिएको छैन’, डीएसपी बोगटीले अनलाइनखबरसँग भने, ‘थप कारण केही छन् कि भनेर अनुसन्धान गरिरहेका छौं ।’ यसअघि २० वैशाखमा ललितपुरको पुल्चोकमा केटीको निहुँमा दुई समूहबीच झगडा हुँदा २० वर्षीय अनसल शाक्यको मृत्यु भएको थियो ।