(पार्थ मण्डल) भद्रपुर। झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी शनिवार एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् । प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका ६ पालिया पुल स्थितमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेचीनगर ६ बस्ने ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता मोटरसाइकलाई ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएपनि बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसै गरी मेचीनगर १० स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको चार्जर स्कुटीलाई सोही दिशातर्फ गइरहेको को १ ख ७४८१ नम्बरको यात्रु बसले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक मेचीनगर ९ बस्ने ६३ वर्षीय नवरप्रसाद संग्रौला र सोही स्कुटी पछाडि सवार उनकै छोरा ३५ वर्षीय जीवन संग्रौला, ८ वर्षीय विशाल संग्रौला घाइते भएका छन् । घाइते तिनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने बस चालक बिर्तामोड १ बस्ने ४३ वर्षीय लीलाराज रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

उता पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ५ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख ९६० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ५४५१ नम्बरको टेम्पुलाई ठक्कर दिएको थियो । दुर्घटनामा परी टेम्पु चालक दमक ९ बस्ने २७ वर्षीय शिवकुमार सोरेन र टेम्पुमा सवार गौरादह नगरपालिका १ बस्ने ५० वर्षीय इन्दिरा चौलागाई घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । घाइते दुवै जनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ, भने ट्रक चालक बिर्तामोड २ बस्ने वर्ष ३८ वर्षीय नरदेव शर्मालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।