काठमाडौं । मानव जीवन दिन दिनै रोगको सिकार बन्दै गएको छ । विषादीयुक्त खाद्य पदार्थ, तरकारी, फलफुल र प्रदुषणका कारण काठमाडौंबासीहरुको स्वास्थ्यमा ठूलो असर पुगेको छ ।यसै विषय अन्तर्गत नेपाली कांग्रेसले नागरिक जीवन प्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने वर्तमान सरकारको जनविरोधी प्रवृत्तिलाई गम्भीरतापूर्वक लिएको बताएको छ।
नेपाल–भारत सिमाको भन्सार विन्दुमा तरकारी फलफुल लगायतमा विषादीको अवशेष अनिवार्य परिक्षण गर्ने नीति सरकार स्वयंले सूचना प्रकाशित गरेर सार्वजनिक गरेको भन्दै काग्रेसले अहिले सरकारले कुनै परिक्षण वेगर नै भित्रिन दिने आदेश दिएको समाचार अत्यन्त गम्भीर रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
नेपाली कांग्रेसले यसबारेमा पारदर्शी र आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकार समक्ष अपिल गरेको छ । ‘तरकारीको विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको हो ?’ कांग्रेसकाे विज्ञाप्तिमा उल्लेख छ ।काठमाडौँ सहरको प्रदुषणको प्राविधिक मापनको ज्ञान वेगर एकातर्फ मास्क नलगाई हिड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परिक्षण वेगर अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद रहेको विज्ञप्तीमा उल्लेख छ ।
काग्रेसले विषादीयुक्त खाद्य पदार्थका कारण अनेक रोगले नागरिकलाई गाँजिरहेको तथ्यलाई विर्षिएर सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवनमाथि हदैसम्मको गैह्र जिम्मेवारी हो भनेको छ ।काग्रेसले नागरिक जीवनमाथि खेलवाड गर्ने गैह्र जिम्मेवार सरकारको भत्र्सना गर्दै विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा तत्कालै कडा परिक्षण र नियन्त्रणको मार्गमा उभिन सरकारलाई सचेत गरेको छ ।










