भारतबाट विषादी युक्त तरकारी आयतको चर्को बहस चलि रहदा उदयपुरको बेलका नगरपालिकाले भने अर्गानिक हरियो करेला खाडी मुलुक कतार निकासी गर्न थालेको छ । प्रदेश १ उदयपुर जिल्लाको बेलका नगरपालिकास्थित कोसीटप्पुमा उत्पादन भएको आर्गानिक तितेकरेला खाडी मुलुक कतारमा निर्यात सुरु भएको हो ।

पहिलोपटक ५० कार्टुन करेला कतार निर्यात भएको थियो । दोस्रोपटक ९० कार्टुन तितेकरेला कतार पठाउने तयारी भइरहेको छ । विभिन्न रोगी हरुले समेत खान उत्तम मानिने तिते करेलोलाई ब्लाक डायमन्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक वर्षदेखि नेपालको अर्गानिक तरकारीलाई कतार पठाइरहेको प्रालिले यस वर्षदेखि बेलकामा उत्पादन भएको तरकारीलाई पठाउन थालेको छ । प्रालिले नेपाल सरकारको रोहवरमा कतार सरकारसँग अर्गानिक तरकारी निर्यात गर्ने सम्झौता नै गरेको र सोहीअनुसार हाल दैनिक तीन टन तरकारी कतार पठाइरहेको प्रालिले जनाएको छ ।

कतार पठाउन थालेको एक वर्ष मात्र भए पनि माग धेरै भएको प्रालिका निर्देशक नारायण कार्कीले जानकारी दिए । नेपालमा उत्पादन कम छ,’ उनले भने, ‘विषादीरहित अर्गानिक तरकारी पठाइरहेका छौं।’

यँहाका किसानले उत्पादन गरेको तरकारी खरिद गरेर प्रालिले कतार पठाउन बेलका नगरपालिका, स्थानिय कृषि समूह र प्रालिबीच त्रिपक्षीय सम्झौता पनि भएको छ । सम्झौताअनुसार बेलका नगरपालिका–२ र ३ मा कृषि समूहलाई सो प्रालिले प्रविधि, बीउबिजन, सिँचाइलगायत सबै कुरामा लगानी गरिदिएको छ ।

किसानले उत्पादन गरेको तरकारी प्रालिले निश्चित मूल्यमा खरिद गर्ने सम्झौता गरेको छ । बजारमा भाउ घटबढ भए पनि किसानलाई कुनै असर नगर्ने गरी सम्झौता गरिएको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थापाले बताए । प्रालिले किसानहरुलाई प्रविधि, ऋण, तालिम दिएर पछि फल उठाउने बेलामा आफ्नो लगानी कटाएर किसानलाई मूल्य दिने गरेको मेयर थापाले बताए।

यस बर्ष देखी नगरले किसानहरूको क्षमता अभिवृद्धि गर्न तालिम दिने, अर्गानिक उत्पादनमा बढाउने र बजारीकरण गर्न नगरपालिकाले सहजीकरण गरिदिने मेयर थापाले बताए। उनका अनुसार ५ सय हेक्टरमा चक्लाबन्दी गरेर मकै उत्पादन गरिएको र सो मकै पाल्पाको श्रीनगर कम्पनीले खरिद गर्ने सम्झौता भएको छ ।