एजेन्सी। अफगानिस्तानको क्रिकेट टिमले नयाँ होमग्राउण्ड पाएको छ । अब उसको होमग्राउण्ड भारतको लखनउको अटल बिहारी बाजपेयी इकाना स्टेडियम हुनेछ । यो मैदानमा सबैभन्दा पहिले अफगानिस्तान प्रिमियर क्रिकेट लिगको पहिलो सिजन हुनेछ ।

यसअघि अफगानिस्तानको होमग्राउण्ड देहरादूनमा थियो तर कैयौं किसिमका अन्तर्राष्ट्रिय स्तरका सुविधा नभएका कारण यहाँ ठूला टिमलाई बस्न समस्या भइरहेको थियो । त्यतिबेलादेखि नै अफगानिस्तान क्रिकेट बोर्डले लखनउ वा कोलकातामा आफ्नो नयाँ होमग्राउण्ड बनाउन माग गरिरहेको थियो । अहिले बीसीसीआइले लखनउलाई उसको होमग्राउण्ड बनाउन सहमति दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अफगानिस्तान क्रिकेट बोर्डका सिइओ असदुल्लाह खानले शनिबार राती एक बयान जारी गर्दै यसको पुष्टि गरेका हुन् । उनले भने ‘यसअघि हाम्रो होमग्राउण्ड देहरादूनको स्टेडियम थियो । तर त्यहाँ अन्तर्राष्ट्रिय सिरिज गराउनको लागि जरुरी सुविधा जस्तै पाँचतारे होटल र अन्य संसाधन थिएनन् । यही कारण अफगान प्रिमियर क्रिकेट लिगको आयोजनामा पनि समस्या आइरहेको थियो । तर अब लखनउमा हाम्रो सबै समस्याको समाधान हुनेछ ।’

अफगान प्रिमियर लिगका अलावा नोभेम्बरमा अफगानिस्तान र वेष्ट इण्डिजबीच हुने ३ टि–२०, ३ वनडे र १ टेस्टको सिरिज पनि यही मैदानमा खेलिनेछ । यो सिरिज ५ नोभेम्बरदेखि १ डिसेम्बरसम्म हुनेछ ।यो मैदानमा अहिलेसम्म १ अन्तर्राष्ट्रिय खेल भएको छ । नोभेम्बर २०१८ मा भारत र वेष्ट इण्डिजबीच यहाँ टि–२० अन्तर्राष्ट्रिय खेल भएको थियो । यो मैदानको दर्शक क्षमता ४० हजार छ र यहाँ अन्तर्राष्ट्रिय स्तरका सबै सुविधा छन् ।