उर्लाबारी । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय सङ्गम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय दलित युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर घर फर्कँदै गरेको अवस्थामा राईले गत शुक्रबारराति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको श्रेष्ठले बताउनु भयो ।

प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए । घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । टाउको र शरीरका विभिन्न भागमा चोट रहेकी युवतीको उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक युवाले युवतीमाथि बल प्रयोग गरेर जबरजस्ती गरिरहेको र युवतीले प्रतिवाद गरिरहेको स्थानीय देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर  जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।