पछिल्लो समय नेपालमा भारतीय दादागिरी हावी हुर्दै गएको छ । नेपाल स्वतन्त्र राष्ट्रका रुपमा चिनिने गरेतापनी भारतीय पक्षबाट विगत केही समयदेखि नेपाललाई थिचोमिचोमा पारिएको हो ।
भारतीय पक्षले नेपालका सिमामा उत्पात मच्चाईरहेको छ । हालै मात्र बर्दिया राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् ।
चैत १६ र १७ गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेका थिए ।
स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ । जिल्लाको राजापुर नपा र गेरुवा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय जंगलबाट आउने हात्तीलगायत जङगली जनावर रोक्न विद्युतीय तारबार लगाउने क्रममा एसएसबी नेपालभित्र छिरेर रोक्ने प्रयास गरेको हो ।
सीमा स्तम्भ नम्बर ८६ र ८७ बीच नेपाल भूमिमा विद्युतीय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयवासीलाई धम्काउँदै रोक्ने प्रयास गरेका थिए । तारबार रोक्न एसएसबी हतियारसहित नेपाली भूमि प्रवेश गरेको स्थानीयवासीको भनाइ छ ।
एसएसबीले तारबार लगाए ज्यान मार्ने धम्की दिएको स्थानीयवासी विष्णु रिजालले बताए । घटनालगत्तै राजापुरस्थित सीमा सुरक्षा सशस्त्र प्रहरी बल त्यहाँ पुगेको थियो ।
सशस्त्र प्रहरी बल राजापुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म दशगजादेखि करिब सय मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउन सहमति भएको जनाए ।
प्र.नि रानाले भने एसएसबी हतियारसहित नेपाल प्रवेश नगरेको बताए । नेपाली भूभागभित्र तारबार लगाउन नपाउने भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृत्तिले स्थानीयवासी आतंकित भएको भिम्मापुरका लालबहादुर चौधरीले बताए ।
निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमी क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली जनावरबाट हुने क्षति कम गर्न तारबार लगाउने काम भइरहेको छ ।
यसरी नेपाली भुमिमा भारतीय पक्षले आफ्नो हस्तक्षेपलाई बडाएको हो । नेपाल–भारत सीमामा मुख्यसहित ५४ वटा सीमास्तम्भ हराएको करिब डेढ दशक बितेको छ तर जिम्मेवार निकाय भनिएको नेपाल सरकार मौन छ ।
बर्दियासँग जोडिएको करिब ८० किलोमिटर लामो सीमामा हराएका स्तम्भको खाजी र पुन मर्मतमा सरकारी निकायले ध्यान नदिएका कारण भारतीय पक्षले आफ्नो हैकम चलाएको स्थानीयको गुनासो छ ।
यसरी भारतले नेपाललाई थिचोमिचोमा पार्दा समेत नेपाल सरकार मैन बस्नुलाई आर्चश्यका रुपमा हेरिएको छ । नेपाल सरकार असफल देखिएको प्रष्ट देखिन्छ ।



