काठमाडौं, २४ असार । मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश भू–भागमा पानी पर्ने मौसमविद्हरुले जानकारी दिएका छन् ।
मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार देशका धेरैजसो भू–भागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताएकी छन् । उनी भन्छिन्, ‘पश्चिमका धेरैजसो भू–भाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’
मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सर्दै गईरहेको केही दिनदेखि नै नेपालका अधिकांश भू–भागमा वर्षा भइरहेको छ ।
यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ । पानी पर्ने क्रम बढेकाले खोला नालामा पानीको मात्रा बढ्ने र भलबाढी चल्न सक्ने भएकाले सतर्क रहन मौसमविद्हरुले सचेत गराएका छन् ।










