सुनसरी, २६ असार । तीन दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशीमा बिहान ६ बजे पानीको बहाव प्रतिसेकण्ड ९९ हजार ८ सय २० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ। नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।बराहक्षेत्र नगरपालिका चिलिया टापु सप्तकोशी नदीले कटाना गर्दा २५ घर जोखिममा परेका छन् ।
लगातारको वर्षासँगै कोशीले श्रीलंका टापुको नामले चिनिने त्यस क्षेत्रको पश्चिम तर्फ कटान गर्दा बालसेवा आधारभुत प्राथमिक विद्यालय समेत जोखिममा परेको स्थानिय श्याम सुब्बाले बताए । सप्तकोशीको बिचमा रहेको श्रीलंका टापुलाई हरेक वर्ष कोशीले कटान गर्दै आएको भएपनि त्यस क्षेत्रको मानिसको बसोबास भने यथावत नै छ । वर्षा जारी रहेकाले सो क्षेत्रमा जोखिम भने बढेको छ ।










