#

विप्लव समूहका झापा जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता यसरी पुगे प्रचण्डको घरमा

    २०७६ असार २७, शुक्रबार ०७:५१ मा प्रकासित

झापा । नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूह छाडेर आएका पूर्व माओवादी कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

प्रचण्डले विप्लव समूहका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इञ्चार्ज सौगात आचार्य, सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई, कोशी व्यूरो सदस्य नवराज राई, युवा सङ्गठन सङ्खुवासभाका जिल्ला सदस्यहरु भरत चापागाईंलाई र हरि चापागाईंलाई नेकपामा प्रवेश गराएका हुन् ।

नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताए ।
उनले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूह एकजुट भई यो महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताए । उनले भने, “कम्युनिष्ट पार्टीको झण्डामुनि रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धितिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।”

जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो, सबै ब्युँझाउँछु भन्न थाल्दा सम्भव नहुने उनको भनाइ थियो । उनले भने, “हामीले विशाल पार्टीको आधार तयार गरेका छौँ, यहाँ सबै अट्छन् ।” अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आह्वान गर्दै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु