एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै प्रहरी महानिरीक्षक नियुक्तिमा ढिलाइ गरिरिहेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
सरकारले अदालतको आदेश पालना नगरेर संवैधानिक अराजकता मच्चाएको आरोप उनले लगाए । पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समिति बैठकमा ओलीले सरकार कसैको दबाबमा परेकाले महानिरीक्षक नियुक्ति गर्न नसकिरहेको बताएका हुन् । ओलीले प्रहरी महानिरीक्षक नियुक्तिमा काँग्रेस सभापति शेरबहादुर देउवाले अनुचित प्रभावले काम गरेको आरोप लगाए । ‘आईजीपी नियुक्तिमा शेरबहादुर देउवाले अनुचित रवैया देखाएका छन्’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सर्वोच्च अदालतको आदेशसमेत पालना नगरेर सरकारले संवैधानिक अराजकता प्रदर्शन गरिरहेको छ ।’
देउवाको निहीत राजनीतिक स्वार्थका लागि प्रहरी संगठनको मनोबलमै आँच आउने काम गरेको बताए । घुमाउरो शैलीमा ओलीले पहिलो बरियताका डिआईजी नवराज सिलवाललाई प्रहरी महानिरीक्षक बनाउनुपर्नेमा सरकारले गल्ती गरेको बताए । ‘भएका नियम, कानून, विधिविधान सबै मिचिएको छ’, उनले भने, ‘अदालतले प्रष्टसँग कसलाई नियुक्ति गर्ने भन्नेबारे परमादेश दिइसक्यो तै पनि कार्यान्यवन हुँदैन ।’
काँग्रेस सभापति शेरबहादुर देउवाले सिलवाललाई प्रहरी महानिरीक्षक बनाए एमाले र ओलीका लागि काम गर्ने भन्दै अदालतको आदेश पालना नगर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । देउवाले सिलवाल ‘ओलीका मान्छे’ भएको बताउँदै आएका छन् । सर्वोच्च अदालतले तेश्रो वरियताका डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय खारेज गर्दै पहिलो वरियताका सिलवाललाई नियुक्ति गर्न परमादेश जारी गरे पनि सरकारले अझै कार्यान्वयन गरेको छैन ।
प्रधानमन्त्री चीन जानअुघि नै सिलवाललाई महानिरीक्षकको जिम्मेवारी दिन तयार भएको समाचारहरु बाहिर आएका थिए । तर, देउवाले पुनः चन्द वा दोश्रो वरियताका प्रकाश अर्याल र चौथो वरियताका बमबहादुर भण्डारीलाई बनाए फरक नपर्ने तर, सिलवाल नहुने अडान राख्दै आएका छन् ।



