बाबुको मृत्यु र आमाले दोस्रो विवाह गरेपछि जाजरकोटको बारेकोटमा तीन बालबालिका बिचल्लीमा परेका छन् ।

बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाँच वर्षअघि बाबु कलिमान नेपालीको मृत्यु भएको र आमा सरस्वतीले विवाह गरेर अन्यत्रै गएपछि उनीहरु सहाराविहीन बनेका छन । उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८, ७ र ६ कक्षामा पढ्छन् ।

“पढ्न मन भएर के गर्ने  ? कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ”, हीराले भने ।

घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।

उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए । “दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु”, उनले भने ।