सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा मङ्गलवार जङ्गली हात्तीको आक्रमणबाट गम्भिर घाईते भएका दुई जनाको मृत्यु भएको छ । विहान १० बजे कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा सोही ठाउँका सात जना घाईते भएका थिए । हात्तीको आक्रमणबाट गम्भिर घाईते भएका रोशन झा र संजय साफीको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
उनीहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । आक्रमणबाट अन्य ईर्साद अलि, बसन्त मण्डल, सङ्गीत साह, कालीचरण दास, नविना खातुन पनि घाईते भएका हुन् । उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हात्ती आक्रमणका कारण उक्त बस्तीका वासिन्दा भागाभाग भएका थिए । सो हात्तीलाई प्रहरी र स्थानियवासिन्दाले गोबरगाढा टापुतर्फ फर्काएको ईलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।



