काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आतंकवाद र हिंसालाई प्रश्रय दिने कि नदिने भन्नेमा सञ्चारमाध्यमको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका छन् ।

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन अवस्थाबारे ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ ले सोमवार सञ्चार उद्यमीसँग आयोजना गरेको अन्तर्क्रिया मन्त्री बाँस्कोटाले लोकतन्त्र र समाजप्रति प्रेसको उत्तरदायित्व हुने भएकाले यसले मुलुकलाई भाँडतन्त्रमा जान दिन नहुने विचार व्यक्त गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री बाँस्कोटाले सहभागीलाई प्रश्न गरे, 'आतंकवादप्रति नेपाली मिडियाको दृष्टिकोण के हो ? सञ्चारमाध्यम समाजको पथप्रदर्शक हो भने मिडियाले समाजलाई कता लाँदैछ ?' उनले उत्रिएको समूह र प्रहरीसँगको भिडन्तका घटनालाई जातजाति र अन्य पक्षसँग अनावश्यक रुपमा जोडेर प्रस्तुत गर्न नहुने पनि बताए ।

'कम्युनिष्ट पार्टीको सरकार भए पनि नेपाल धेरै रङको देश हो, हामी लोकतन्त्रमा छौं, लोकतन्त्रमा प्रेस खुला रहन्छ,' मन्त्री बाँस्कोटाले भने, 'प्रेसको मर्यादा अरूले राख्नुपर्ने र मिडिया स्वयंले पनि आफ्नो मर्यादा राख्नुपर्छ ।' राजनीतिक परिवर्तनपछि आर्थिक सामाजिक परिवर्तन गर्नुपर्ने भएकाले विभिन्न नयाँ कानून ल्याइएको उल्लेख गर्दै उनले भने, 'हामीले सञ्चार कानूनको तयारी गरेका छौं । राम्रा कुरालाई छोपेर विवादित बुँदालाई मात्र बहसमा ल्याउने प्रयास भएको छ । हामी झाडीमा पसेको बाह्रसिँंगेजस्तो भएका छौं, झाडी छिचोल्न सकिरहेका छैनौंं । स्वनियममा जान सकिन्छ, त्यसका लागि बहस गरौं ।'

मन्त्री बाँस्कोटाले विभिन्न व्यवसायका लगानीकर्ताले सञ्चारमाध्यममा लगानी गर्ने र लगानीको परादर्शिता नराख्ने तथा सञ्चारमाध्यममा सोझै विदेशी लगानी गर्ने प्रवृत्ति कदापि उचित नहुने भएकाले अब आउने आमसञ्चार कानूनले त्यसलाई व्यवस्थित गर्ने जानकारी दिए । लोकान्तर बाट