झापा । कन्काई नदीको पुलमा बम राखेको अभियोगमा पक्राउ परेका पाँचमध्ये चार जना कारागार चलान भएका छन् । एक जनालाई अदालतले धरौटी लिएर तारेखमा रिहा गरेको छ । २९ वैशाखमा कन्काई नगरपालिका–४ स्थित कन्काई माईको पुलमा रहेको डिभाइडरमा प्रेसर कुकर बम राख्नेलाई जिल्ला अदालत झापाले कारागार चलान गरेको हो । पुलमा गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पर्चासहित बम राखेर उनीहरु आफैँले मोबाइलबाट जिल्ला प्रहरी कार्यालय झापाको कन्ट्रोल रुममा फोन गरेर जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार प्रेसर कुकरलाई उनीहरुले प्लास्टिकको बोरा, कालो तार तथा डोरीले बेरेर चलिरहेको घडीसमेत जडान गरेका थिए । कुकरको बिर्कोको वासरको प्वालबाट रातो र पहेँलो रङको तार जडान गरी बाहिर निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष प्रहरी टोलीले बम राख्ने पाँचै जनालाई सोही दिन पक्राउ गरेको थियो ।
झापा र सुनसरीको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध बम विष्फोट मुद्दा दर्ता गरेको थियो । झापा अदालतले घटनामा संलग्नहरु दमक नगरपालिका–१ का ४२ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेल, संखुवासभाको खादबारी नगरपालिका–८ हिगुवा घर भइ हाल मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने २१ वर्षीय कमल भन्ने लालमणि कर्णखर कोइराला र मोरङ उर्लाबारी नगरपालिका–१ बस्ने १९ वर्षीय मनिष माझीलाई पुर्पक्षका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी चलान गरेको हो ।
घटनामा संलग्न शिवसताक्षी नगरपालिका–१० का ६४ वर्षीय चौहान साइँला भन्ने रामचन्द्र चौहानलाई अदालतले डेढ लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेर चौहान पनि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । सोही घटनामा पक्राउ परेका हल्दीबारी गाउँपालिका–७ का २७ वर्षीय दिपेश न्यौपाने भने एक लाख रुपैयाँ धरौटी रकम तिरेर तारेखमा छुटेका छन् । टाइम्स अफ प्रदेश बाट साभार










