काठमाडौं, १ साउन । मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लाग्यो । तर, यो दृष्य सबैले हेर्न पाएनन् । तर, चन्द्र ग्रहण कस्तो देखियो होला भन्ने कौतुहल भने सबैको मनमा छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लागेको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो ।
त्यस्तै, बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुने र बिहान ४ः४५ मा मोक्षकाल अर्थात ग्रहण सकिएको उनले बताए । पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो । सन् १८७० जुलाई १२ मा गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो ।










