काठमाडौं। सरकारले आर्थिक मितव्यायिता अपनाउने विषयलाई प्राथमितामा राखेको छ। अझ सरकारले ‘जनताले तिरेको कर जनताकै लागि’ भन्ने सरकारको नारामाथि नै प्रश्न चिन्ह खडा हुने गरी एक महिनाको अवधिमा विशिष्ट व्यक्तिको विदेश भ्रमणमात्रै ५ करोड ५१ लाख खर्च भएको छ।
जेठ महिनामा मात्रै विशिष्ट व्यक्तिको विदेश भ्रमणमा मात्रै करिब ५ करोड ५२ लाख खर्च भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। विदेश भ्रमणका नाममा एउटै सम्मेलनमा जम्बो टोली नै गएर राज्यको ढुकुटी रित्तिँदै गएको अर्थविद्हरु चिन्ता व्यक्त गर्छन्।
गएको जेठमा विशिष्ट व्यक्तिको भ्रमणमा मात्रै ५ करोड ५१ लाख ५२ हजार ६ सय ३७ रुपैयाँ अर्थ मन्त्रालयबाट विनियोजन भएको छ। परराष्ट्र मन्त्रालयको नाममा ५ करोड २९ लाख ४४ हजार ९ सय ३२ रुपैयाँ निकाशा भएको छ। परराष्ट्र मन्त्रालयको नाममा निकासा भएकै रकमबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि मात्रै २ करोड १२ लाख ८५ हजार २६ रुपैयाँ विनियोजन गरेको थियो।
त्यस्तै परराष्ट्र मन्त्रालयकै नाममा प्रतिनिधि मण्डलको भ्रमण तथा स्वागत खर्चकै शीर्षकमा मुख्य सचिव लोकदर्शन रेग्मीसहित ४ जनाको टोली इजिप्ट र इजरायल भ्रमणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा निकाशा गरिएको १३ लाख ५६ हजार ३ सय ५५ रुपैयाँ निकाशा गरिएको छ।
त्यस्तै राष्ट्रपति विद्यादेबी भण्डारीको टोली चीन भ्रमणमा गएको बेलामा पनि प्रतिनिधिमण्डलको भ्रमण खर्चमै परराष्ट्र मन्त्रालयको नाममा ३ करोड ९ लाख ५५ हजार ६ सय ३३ रुपैयाँ अर्थमन्त्रालयबाट विनियोजन भएको तथ्याङ्कले देखाएको छ। वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतसहितको प्रतिनिधि मण्डलको टोली दोहा कतार भ्रमणमा ७ लाख ४ हजार २ सय ७३ रुपैयाँ निकाशा गरिएको छ।
विशिष्ट व्यक्तिको भ्रमण खर्चमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा पनि रकम विनियोजन भएको छ। राष्ट्रिय सूचना आयोगका युक्तद्वय किरण कुमार पोखरेल र यसोदादेबी तिमिल्सेनाको दक्षिण अफ्रिका भ्रमण कार्यक्रमको खर्च वाफत ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ विनियोजन गरिएको छ।डिसी नेपाल बाट साभार गरिएको










