बारा । भारतबाट नेपालको अमलेखगञ्जसम्म पहिलोपटक गएराति डिजेल आइपुगेको छ । पेट्रोलियम पाइपलाइनमार्फत भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९ दशमलव २ किलोमिटर लामो पाइपलाइनमा परिक्षणका लागि पठाइएको एक हजार लिटर डिजेल अमलेखगञ्ज डिपोमा ल्याइएको छ । डिपो प्रमुख प्रदीप यादवका अनुसार पानीको सफल परिक्षणपछि पाइपलाइनमा डिजेल पठाइएको हो । बिहीबार बिहान मोतिहारीबाट पम्पिङ गरिएको एक हजार लिटर डिजेलको अघिल्लो भागमा पानी रहेकाले शुक्रबार त्यसको प्रशोधन गरी पानी र तेल छुट्याइनेछ । यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्याङ्की तयारी अवस्थामा रहेका छन् ।
पाइपलाइनबाट भण्डारण ट्याङ्कीसम्म तेल लैजान पनि पाइपलाइनकै प्रयोग हुने र त्यसको जडान सम्पन्न भइसकेको परियोजना प्रमुख यादवले जानकारी दिनुभयो । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने प्रमुख यादवको भनाइ छ ।
https://www.facebook.com/janatasamachar/videos/743069029497176/










