माेरङ - प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको तीन महिनामै सरुवा भएको छ । सरुवा भएर आएदेखि विवादास्पद छवी बनाएका घिमिरेलाई संघीय सरकारले कारबाही स्वरुप सरुवा गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । यसअघिका सचिव सागर राईको सरुवा भएपछि आएका घिमिरे कर्मचारीहरुलाई समेत दुख दिने तथा आर्थिक चलखेलमा फसेको गुनासो बढेपछि संघीय सरकारले कारबाही स्वरुप संघीय मन्त्रालय तानेको स्रोतको दावी छ ।
सचिवमाथि लागेका आरोप
सचिव घिमिरे सरुवा भएर आएदेखि नै उनीमाथि विभिन्न आरोपहरु लाग्दै आएको थियो । योजना/कार्यक्रम हाल्ने बेलैमा रकम माग्ने तथा काम सकेर भुक्तानी लिन आएका बेला पनि रकमको चलखेल गर्ने गरेको आरोप लाग्दै घिमिरेलाई लाग्दै आएको थियो ।
त्यस्तै कर्मचारीहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको तथा कार्य सम्पादन मुल्याङ्कन बिगार्ने गरेको आरोप कर्मचारीले लगाएका छन् । समायोजन भएर आएका कर्मचारीलाई राम्रो ठाउँमा पार्दिने भन्दै रकम माग्ने गरेको कर्मचारीहरु नै बताउँछन् ।
घिमिरे चैत १८ गते प्रदेश १ मा सरुवा भएर आउनुभएको थियो । उहाँको अवकाश हुन पनि अब तीन महिना मात्रै बाँकी छ । ‘भ्रष्टाचार गर्न नपाएको समुहले बिष बमन गर्यो’सचिव घिमिरेले भने आफूमाथि अनर्गल आरोप लगाइएको बताउनुभएको छ । सरुवा सामान्य भएको भन्दै उहाँले भ्रष्टाचार गर्न नपाएको एउटा समुहले आफुमाथि अनर्गल आरोप लगाएको बताउनुभयो ।‘जुन समूहले भ्रष्टाचार गर्न पाएनन् त्यो समूहले बिष बमन गरेको हो,’ उहाँले भन्नुभयो, ‘सरुवा भएर आएका कर्मचारीको काम गर्ने क्षमता छैन र विज्ञता छैन भने हटाउनु पर्छ ।’कर्मचारीबाट धेरै अनियमिता तथा आर्थिक ऐन विपरितका कार्यहरु हुन खोजेको भने उहाँले स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश १ मा यस्ता खालका कर्मचारी धेरै छन् ।’
योजनामा निर्माण र भुक्तानीको बिषयमा लागेको आरोपमा भने उहाँले कुनै जवाफ दिनुभएन । आफूले आफ्नो पदीय दायित्व निर्वाह गरेकोले सरुवाको बारेमा बोलिरहनु आवश्यक नरहेको उहाँले बताउनुभयो । उज्यालो बाट










